काठमाडौं । प्रस्तावित ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाले बिजुली उत्पादन थालेपछि अपी पावर कम्पनी लिमिटेडको नाफामा भारी वृद्धि हुने भएको छ ।
चमेलियाबाट २०७९ चैतदेखि बिजुली उत्पादन हुनेछ । चमेलिया आयोजना सञ्चालनमा आएपछि आर्थिक वर्ष ०७९/०८० मा नाफा बढेर ४८ करोड ३३ लाख रुपैयाँ पुग्ने प्रक्षेपण अपीले गरेको छ ।
गत आर्थिक वर्षमा अपीले ९ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले हाल ८ मेगावाटको अपर नौगाढ र ८.५ मेगावाटको नौगाड गरी १६.५ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

यी दुई आयोजनाबाट चालू आर्थिक वर्ष ०७७/०७८ मा १५ करोड र आगामी वर्ष १९ करोड ४४ लाख रुपैयाँ खुदनाफा गर्ने कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
चमेलिया आयोजना सञ्चालनमा आएको पहिलो वर्ष अपीको नाफा झण्डै २९ करोड रुपैयाँ बढ्ने अनुमान गरिएको छ । त्यसपछिका वर्षहरूमा बढ्ने नाफा वित्तीय विवरणमा खुलाइएको छ । आगामी आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७९/०८० मा अपीको नाफा १४८ प्रतिशतसम्म बढ्ने पक्षेपण गरिएको छ ।
चालू आर्थिक वर्षमा बिजुली बिक्री र लाभांशबाट गरी ४३ करोड, आगामी वर्ष ४६ करोड ६० लाख र ३ वर्षमा ९६ करोड ६८ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.२८, आगामी वर्ष घटेर ५.६० र आर्थिक वर्ष ०७९/०८० मा १३ रुपैयाँ ९३ पैसा पुग्ने अनुमान छ ।
अपी पावरले निर्माण थालेको अपर चमेलिया जलविद्युत तेस्रो आयोजना हो । आयोजना बनाउन ७४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हिमालयन बैंकको अगुवाइमा आयोजनामा ५ अर्ब १८ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।

हिमालयनको अगुवाईमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकहरूले सह–वित्तीयकरण बनाई सो रकम आयोजनामा ऋण लगानी गर्ने भएका हुन् ।
बाँकी २ अर्ब २२ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी हुनेछ । आयोजनालाई लगानी जुटाउन अपीले पहिलो चरणमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ
माथिल्लो चमेलियालाई लगानी जुटाउन अपी पावरले आउँदो कात्तिकको दोस्रो सातादेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कात्तिक १४ गतेदेखि निष्कासन हुने हकप्रद सेयर बन्द मंसिर ४ गते हुने कम्पनीका सञ्चालक सतिश न्यौपानेले बताए ।
प्रथम चरणमा चुक्तापुँजीको १ बराबर ०.४७ प्रतिशत अर्थात ५६ करोड ७० लाख रुपैयाँबराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।हाल कम्पनीको कायम चुत्तापुँजी १ अर्ब १९ करोड रुपैयाँ छ ।
अपी हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा आयोजनाको बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाइपको सहायताले चमेलिया नदीको पानी फर्काइ मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गरी बिजुली उत्पादन हुनेछ ।
ऊर्जा उत्पादन गरी १६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेसनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ ।
उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । कम्पनीले आफ्नो लगानी तथा बैंक ऋणबाट सुदूरपश्चिम प्रदेश, दार्चुला वहने नौगाड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रूपमा ८.५ मेगावाटको नौगड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ भदौ २ गतेदेखि बिजुली उत्पादन थालेको हो ।
कम्पनीले दोस्रो आयोजनाको रूपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना मिति २०७६ साल कात्तिक १३ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको छ ।