धनुषा । दसैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दसैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ ।
बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ । दसैं सकाएर काममा फर्किनेहरु तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ ।
सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महीनाको तलब एकै महीनामा खर्च गर्छन् । यसले पनि दसैंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ ।
वर्षभरि कर्मचारीले १३ महीनाको तलब पाउँछन् । थप एक महीनाको तलब दसैं खर्चका लागि दिइने पुरानो चलनका कारण र बजारमा पैसा चलायमान हुने भएकाले दसैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ ।
दसैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरीदमा छूट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।
‘पहिले पनि दसैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दसैं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरीद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ’, अर्थशास्त्री डा लाभले भने ।
व्यवसायीहरुका अनुसार दसैंमा करीब रू. १० अर्ब मूल्य बराबरको लत्तकपडा मात्र किनबेच हुन्छ भने त्यसबाहेक पनि खाद्यान्न, माछा, मासु एवम् पेय पदार्थको समेत कारोबार बढ्ने गर्दछ ।
जनकपुरमा मात्र हरेक वर्ष दसैंमा २५ हजार ओटा खसिबोका खपत हुने तथ्यांक छ । यसरी वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकाले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्को भनाइ छ । उनीहरुका अनुसार दसैंले अर्थतन्त्रलाई पुनर्जिवन दिन्छ । करीब ५ लाख कर्मचारीका लागि रू.४ अर्बभन्दा बढी रकम दसैं खर्चबापत मात्र दिइने गरेको अर्थ मन्त्रालयको तथ्यांक छ ।
यसबाहेक निजी क्षेत्रका संसंस्था, बैंक तथा वित्तीय संस्थाले पनि कर्मचारीलाई दसैं खर्चबापत बोनस तथा भत्ता दिन्छन् । यसले पनि आर्थिक परिचालनमा मद्दत गरेको छ ।
पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दसैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्रीहरु बताउँछन् । विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महीनाको तुलनामा दसैंमा करीब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार औषतमा दसैंताका करीब रू. १०/ १५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दसैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन । भारतमा हजारौंको संख्यामा नेपालीहरु कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ ।
अर्थविद्हरुका अनुसार दसैं अघिका दुई–तीन हप्ताको अवधिमा वर्षभरीको कुल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ । दसैंदेखि छठ पर्वसम्म बजारमा करीब रू. ५ अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको अर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ ।
खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरीलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ ।
दसैंअघिको समयमा मात्र अन्य समयको १० महीना बराबर व्यापार हुने गरेको उद्योग वाणिज्य संघ प्रदेश नं २ का अध्यक्ष शिवशंकर साहको भनाइ छ । उनका अनुसार छूट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ ।
यतिखेर प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाममा दसैंको निकै चहलपहल बढेको छ । दसैंको टीका चलिरहेको र दिपावली नजिकिंदै गर्दा बजारमा किनमेल गर्नेको जनकपुरमा भीड लागेको छ ।
खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलहरुमा मानिसहरुको भीड लागेको छ । चाडपर्वका लागि मानिसहरुले खाद्यान्नदेखि लत्ताकपडासम्म अनिवार्य रूपमा किन्ने गरेका छन् । जनकपुरका मुख्य बजारहरु शिव चोक, राम चोक, मुरली चोक, जानकी चोक लगायतका ठाउँहरुमा किनमेल गर्ने मानिसहरुको बाक्लो उपस्थिति देखिन्छ ।
गाउँदेखि शहरसम्म धुमधामका साथ मनाइने दसैंमा व्यापारसमेत बढ्ने गर्छ । कुल राष्ट्रिय उपभोगको २० प्रतिशत दसैं अघिको दुई÷तीन साता अवधिमा मात्रै हुने अनुमान गरिएको छ । व्यापारीहरूको पनि वर्षभरीको कमाइ हुने समय भनेकै दसैं, तिहार, छठजस्ता चाडपर्व नै हो । रासस