साताको अन्तिम दिन नेप्सेमा सामान्य करेक्सन देखिएको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार ४१.२० अंकले बढेको बजार बिहीबार १.७८ अंक करेक्सन भएको हो।
बजार बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लागेका कारण सेयर बजारमा करेक्सन देखिएको जानकारहरु बताउँछन्। यद्यपि, बजार बुल यात्रामा नै रहेको उनीहरुको भनाइ छ।
आज बजारमा सामान्य करेक्सन भए पनि आगामी साता बढ्ने एक लगानीकर्ताले बताए। बजारलाई अहिले सम्पूर्ण कुरालाई साथ दिइरहेका कारण बजार बढ्ने उनको भनाइ छ। सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न थालिसकेका छन् । कोभिड-१९ का कारण अघिल्लो आवको तुलनामा खुद नाफा केही घटेको वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरुले लगानीकर्ताहरुको अपेक्षाभन्दा बढी लाभांश घोषणा गर्न थालेपछि सेयर बजारमा चमक देखिएको उनले बताए।
त्यसैगरी, कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण पनि प्रकाशित गर्न थालिसकेका छन्। सुधारमूलक वित्तीय विवरणले पनि बजारलाई बढ्न टेवा पुगेको हो।
अहिले बैंकहरुको ब्याजदर निकै कम छ। नेप्सेसँग विपरित सम्बन्ध रहेको बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर कम हुनाले पनि बजार बढेको एक ब्रोकर बताउँछन्। बैंकहरुले निक्षेपमा ब्याज घटाएका छन् र उनीहरुको ब्याजभन्दा बढी शेयर बजारबाट प्रतिफल पाइरहेका कारण लगानीकर्ताहरु सेयर बजारतर्फ आकर्षित भएको उनको भनाइ छ । त्यसैगरी, बैंकहरुले सोचेजति कर्जा परिचालन गर्न सकिरहेका छैनन्। उनीहरुले कम ब्याजदरमा नै कर्जा दिन थालेका छन्। यसले पनि बजारलाई बढ्न सहयोग गरेको छ।
पछिल्लो समय अनलाइनमार्फत सेयर कारोबार गर्न सकिने भए पनि नेपाली धितोपत्र बजारमा धेरै लगानीकर्ताहरु भित्रिएका छन्। त्यसका साथै, कोभिड-१९ का कारण अन्य लगानीका क्षेत्रहरु संकुचित भएकाले पनि सेयर बजारमा लगानीकर्ताहरु तानिएको विश्लेषकहरु बताउँछन्। यी सबै कुराहरु सकारात्मक रहेकाले आगामी दिन बजार बढ्ने लगानीकर्ताहरुले अपेक्षा गरेका छन्।
बिहीबार नेप्सेमा करेक्सन भएपनि कारोबार रकम भने ३ अर्ब नाघेको छ। यस दिन १९२ कम्पनीको ४१ हजार ९०९ पटकको कारोबारमा ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ६५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।
यस दिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शिवश्री हाइड्रोपावर र नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। शिवश्री हाइड्रोपावरको सेयरमूल्य यस दिन १२ रुपैयाँ बढेर १३२ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नेपाल फाइनान्सको २२ रुपैयाँ बढेर २५० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ६ को घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको १.१३ प्रतिशत घटेको छ।