काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको मूल्यमा भारी वृद्धि भएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । कोरोना महामारीका कारण उत्पादनमा कमी र विश्व बजारमा माग अत्यधिक हुन थालेपछि चामलबाहेक अन्य खाद्यान्नको मूल्य बढेको उद्योगीहरुले बताएका छन् । तर, अहिलेसम्म चामलको मूल्य बढेको छैन् ।
‘एक महिनाकै बीचमा थेगिनसक्नु गरी मूल्य बढेको छ,’ निम्बस ग्रुपका कार्यकारी निर्देशक डा. दिनेश गौतमले क्यापिटल नेपालसंग भने, ‘सनफ्लावर तेलमा त ४० प्रतिशतसम्म मूल्य बढेको छ । त्यसबाहेक दाल, अन्य तेलको समेत मूल्य बढेको छ ।’
उद्योगीका अनुसार पाम आयलको मूल्य प्रतिटन ६०० डलर हाराहारी हुन्थ्यो । त्यो मूल्य बढेर अहिले प्रतिटन ८०० देखि ८२५ डलरसम्म पुगेको छ । पाम आयल लिटरमै २५ देखि ३० को फरक परिसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोयाविनको मूल्य प्रतिटन ७५० डलर हुन्थ्यो । अहिले प्रतिटन ९०० डलर हाराहारी पुगेको छ । यसमा पनि २० रुपैयाँदेखि २२ रुपैयाँसम्म लिटरमै फरक परेको छ ।
त्यसैगरी, सनफ्लावरको मूल्य धेरै बढेको छ । सनफ्लावरको अन्तर्राष्ट्रिय बजारमा प्रतिटन मूल्य ८५० डलर पर्थो । अहिले १ हजार १५० डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेल तथा दालको मूल्यमा अस्वाभाविक रुपमा वृद्धि भएको छ । व्यापारीको अनुसार मुसुरो दालको मूल्यमा भने खासै फरक आएको छैन् । तर, मास र रहरको दालको मूल्य आकाशिएको छ ।
मासको दाल ८०० डलरमा प्रतिटन कारोबार हुन्थ्यो । अहिले १ हजार डलर पुगेको छ । रहर यस अघि ६०० डलरमा पाइँदै थियो । अहिले ८६० डलर पुगेको छ । उही परिमाण किन्नका लागि बढी पैसा चाहिने भयो । बढी मूल्य पर्ने बित्तिकै भन्सार पनि बढी लाग्छ ।
सरकारले खाद्यान्नबाट पाउने राजस्वमा वृद्धि भए पनि यसरी मूल्य बढ्दा उपभोक्तालाई ठूलो असर परेको छ । व्यापारीको लगानी पनि बढेको छ । प्रतिकुल मौसमका कारण विश्वव्यापी रुपमै उत्पादनमा कमी आएकाले खाद्यान्नको मूल्य निरन्तर उकालो लागेको गौतमले जानकारी दिए ।
खपत पनि पहिलाको तुलनामा बढेकै छ । बाहिर गएर खाने वा जंग पूmड खान छाडेका छन् । घरभित्रै बसेर खाने गरेकाले केही न केही खाद्यान्नको खपत पनि बढेको उद्योगीहरु बताउँछन् ।