काठमाडौं। नियामकीय प्रावधान उल्लंघन गर्दै व्यवसाय गर्ने दुई वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन्। केन्द्रीय बैंकले वाणिज्य बैंकमाथि सुपरिवेक्षण विभागले गत आर्थिक वर्षको चौथो त्रैमासमा एनआईसी एसिया र सिटिजन्स बैंक इन्टरनेशनललाई सुपरिवेक्षकीय कारवाही गरेको हो।
विभागले गरेको निरीक्षण रिपोर्टअनुसार यी बैंकहरुले ऋणीबाट बढी ब्याज असुल गरेको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौता पत्रमा कर्जाको प्रकार, लागू हुने ब्याजदर (स्थिर रपरिवर्तनीय), किस्तासम्बन्धी व्यवस्था सरल एवं स्पष्ट भाषामा नलेखिएको हो।
साथै, निर्देशित क्षेत्रमा कर्जाको गलत रिपोटिङ गरिएको भन्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेतसमेत गराएको छ। एनआइसी एसिया बैंकलाई ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई नदिएको भन्दै राष्ट्र बैंकले सचेत गराएको हो।
एनआइसीले नियामकीय व्यवस्थाविपरीत ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौता पत्रमा कर्जाको प्रकार, लागू हुने ब्यादजदर (स्थिर/परिवर्तनीय), किस्तासम्बन्धी व्यवस्थालगायत ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई दिएको नदेखिएकाले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ बमोजिम सचेत गराइएको छ।
बैंकले चालु पुँजीसम्बन्धी मार्गदर्शन, पूर्ण रूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ गरेको थियो।
यस्तै, सिटिजन्स बैंकले नियमन विभागले दिएको निर्देशनविपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गरेको थियो। बैंकले ‘सिटिजन्स फास्ट ट्रयाक कर्जा’अन्तर्गत कर्जाको उपयोगको सम्बन्धमा आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न यस बैंकबाट दिइएको निर्देशनको पालना नगरेको भन्दै बैंकलाई सचेत गराएको हो।
बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दाबी परेका बैंक जमानतको भुक्तानी तोकिएको समयभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रुपमा म्याद, बढाइएका कर्जामा नियमअनुसार कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हो।
बैंकले चालु पुँजीसम्बन्धी मार्गदर्शन, पूर्ण रूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ गरेको थियो। यसले गर्दा राष्ट्र बैंक ऐनअनुसार सचेत गराइएको रिपोर्टमा उल्लेख छ।