काठमाडौं । युनाईटेड इदि मर्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीले ८ लाख ७३ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले कात्तिक २७ गतेदेखि ८ लाख ७३ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो। यस अगाडि प्रभावित क्षेत्रका लागि निष्काशन गर्दा नबिकेका दुई लाख ४३ हजार कित्तासहित ८ लाख ७३ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो।
हाल निष्काशन हुन लागेको ८ लाख ७३ हजार कित्तामध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानीकोषलाई छुट्टाएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्टाइएको छ।
सबैलाई दिएर बाँकी रहेको ८ लाख १२ हजार कित्ताका लागि आम सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।
प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख २० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्दा एक लाख ७६ हजार कित्ता मात्रै बिक्री भएको थियो। यस अगाडि कम्पनीले सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता छुट्टाएको थियो।
कम्पनीले निर्माण गरेको ७ मेगावाट क्षमताको जलविद्युत आयोजनाले गत असोजदेखि विद्युत उत्पादन गर्दै आएको छ। आयोजनाको जम्मा लागत एक अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड २९ लाख पर्न आउछ।
चालु आर्थिक वर्षमा कम्पनी सञ्चित नोक्सानिमा देखिए पनि आगामी आर्थिक वर्षदेखि नाफामा देखिने कम्पनीले जनाएको छ। अबको दुई वर्षपछि कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ हुने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ।
लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने छन्।
मेरो शेयरमा अनलाइन सुविधा हुने लगानीकर्ताले अनलाइन प्रणालीबाटै आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।