काठमाडौं । नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार रुपैयाँ नजिक पुगेको छ । साताको दोस्रो दिन सोमबार नेपाल रिको सेयर मूल्य ४५ रुपैयाँ बढेर ९६९ रुपैयाँ पुगेको छ ।
कम्पनीको यो हालसम्मकै सर्वाधिक बढी मूल्य हो । आइतबार नेपाल रिको सेयर प्रतिकित्ता ८९४ रुपैयाँमा कारोबार भएको थियो । सोमबार नेपाल रिको सेयर मूल्य ८.३९ प्रतिशत बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
मूल्य बढेसँगै सोमबार नेपाल रिको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल रिले सोमबार सेयर कारोबार बढाएको छ । सोमबार ३ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ बराबरको १ करोड ३ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
नेपाल टेलिकमको १३ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । टेलिकमको प्रतिकित्ता ७९० रुपैयाँमा सेयर किनबेच भएको छ । हिमालयन डिष्टिलरी लिमिटेडको २ हजार १९० मा १३ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सोमबार सेयर बजार ४.२२ अंक बढेर नेप्से परिसूचक १ हजार ६५२ अंकमा पुगेको छ । सेयर बजार बढे पनि बैंक तथा वित्तीय संस्थाको परिसूचक गिरावट आएको छ ।
बैंक, विकास बैंक, होटल, जलविद्युत्, जीवन बिमा र म्युचुअल फण्ड परिसूचकमा गिरावट आएको छ । लघुवित्त, निर्जीवन बिमा र उत्पादनमूलक परिसूचक बढेको नेप्सेले जनाएको छ ।
सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । यी कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
