काठमाडौं । चिनियाँ नाकाबाट अझै पनि मालबाहक कन्टेनर भित्रिन नसकेकोप्रति व्यवसायीले सरकारको ध्यानाकर्षण गरेका छन् । चिनियाँ नाका खुला गरे पनि मालबाहक कन्टेनर नेपालतर्फ भित्रिन नसकेको व्यवसायीको भनाई छ ।१० महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु अझै सहज रुपमा नेपाल भित्रिन नसकेको व्यवसायीले बताएका छन् ।
नाकामा देखिएका समस्याहरु समाधानका लागि नेपाल राष्ट्रिय व्यवसायी महासंघले परराष्ट्रमन्त्री, उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्रीका साथै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई लगायतलाई भेटेर ध्यानाकर्षण गराएपनि तातोपानी नाकाबाट कन्टेनर आउन नसकेकाे व्यवसायीको गुनासो छ ।
नेपाल व्यवसायि राष्ट्रिय महासंघका अध्यक्ष नरेश कटुवालद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नाका खुला भनिए पनि मालवस्तुहरु सहज रुपमा नेपाल भित्रन सकेका छैनन् । नाकाहरुमा अहिले पनि धेरै कन्टेरहरु रोकिएका छन् । तर दिनमा एक र बढीमा दुईवटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रन दिइरहेको छ ।
नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिदा सरकारले कूटनितिक पहल नै गर्न नसकेको भन्ने प्रष्ट छ । अत्यधिक भाडा वृद्धि तथा नाकाहरुमा रहेको सिण्डिकेट समेतको अन्त्य गरी कूटनीतिक पहलबाट नाका सहज बनाउन हामी सरकार समक्ष विनम्र अनुरोध गर्न चाहान्छौं ।’
व्यवसायीले समस्याहरु समाधान नभए नाकामै गएर धर्ना बस्न बाध्य हुने समेत चेतावनी दिएका छन् । चीनबाट आयात हुने मालसामान ताताेपानी नाका हुँदै नेपाल भित्रिने गर्छ ।
तातोपानी भन्सार कार्यलय प्रमुख लालबहादुर खत्री भन्छन्, “दुइवटा चिनियाँ गाडीहरू आइरहेको छ र नेपालतर्फबाट चारवटा गाडीले ती सामानहरू ल्याइरहेका छन्। नाका खुला छ तर सहज छैन।”
“हामीले काम बढाउनुपर्यो। नेपालतर्फका हाम्रा कामदार त्यतिकै बसिरहेका छन् भनेर भनिरहेका छौँ। बिहान ११ बजेसम्ममा नै हाम्रो काम सिद्धिइसकेको हुन्छ भन्दा उताबाट माथिको आदेश भन्ने आशयको जवाफ आइरहेको हुन्छ।”
उक्त नाकामा चिनियाँ पक्षले भनेका सबै सर्तहरू मानेको उल्लेख गर्दै खत्रीले २३ जना कामदार क्वारन्टीनमा बसेको बताए। उनीहरूको हरेक १५ दिनमा पीसीआर परीक्षण गरिने र त्यसको प्रतिवेदन चिनियाँ पक्षलाई पनि दिइने गरिएको बताए।
साधारण अवस्थामा उक्त नाकामा २० देखि ३० वटा मालवाहक कन्टेनर र लसुन अनि फलफूल ७० देखि ८० गाडीसम्म आउने गरेको खत्रीले जानकारी दिए।
यस आर्थिक वर्षमा ५ अर्ब ४७ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य बोकेको उक्त नाकाले अहिले सोचेभन्दा आठ प्रतिशतको हाराहारीमा राजश्व सङ्कलन भइरहेको बताए।
व्यवसायी के भन्छन्
झण्डै १० महिनादेखिको समस्याका कारण झण्डै २० अर्ब रुपैयाँ बराबरका सामग्री चीनतर्फ थन्किएको नेपाल चीन हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष बच्चु पौडेल बताउँछन्।
उनले भने, “दैनिक रूपमा ३० देखि ४० वटा कन्टेनर सामान आउनुपर्ने भएपनि त्यसो हुन नसक्दा अहिले पनि चीनतर्फ १२ देखि १५ सय कन्टेनरसम्मका हाम्रा सामान रोकिएका छन्।”उनका अनुसार नेपाल सरकारको पहल नपुग्दा चिनियाँ पक्षले दैनिक एकाध मालवाहक कन्टेनरहरूलाई मात्रै नेपाल पठाइरहेको हो।
उनले भने, “परराष्ट्र मन्त्रालय र वाणिज्य मन्त्रालयबाट कुरा भइरहेको होला तर माल पनि छोडेको छैन र नेपाली गाडी पनि जान दिइएको छैन। परिणाम नआउनजेल कुरा भइरहेको छ भनेर मात्रै हुँदैन।”
“अहिले हामीले चीनतर्फ भएका सामान नेपाल ल्याएर आवश्यक परेको छ भने दुई देशका सरकार बसेर केही समयका लागि बरू नाका नै बन्द गरौँ भनेर सरकारलाई भनेका छौँ।”
त्यसबाहेक यो बिचमा चिनियाँ ढुवानीकर्ताले रसुवागढी नाका लक्षित गर्दै लगभग २४ किलोमिटर सामान ढुवानी गरिदिन १२ लाख रूपियाँ भन्दा बढी लिएको नेपाल चीन हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष पौडेलले बताए। पहिला ३ लाख रूपियाँमा ती सामान काठमाडौंसम्म ढुवानी हुने गरेको उनको भनाइ छ।
चिनियाँ पक्षबाट त्यसरी ढुवानी खर्च बढेको आफूहरूले सुनेको भएपनि प्रमाण ल्याउन भन्दा व्यवसायीहरूले दिन नसकेको रसुवा भन्सार कार्यलयका प्रमुख पूण्यविक्रम खड्काले बताए।
परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग आफू निरन्तर सम्पर्कमा रहेको र नाकामा देखिएका समस्या समाधानोन्मुख रहेको बताएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, “ कूटनीतिक माध्यमबाट हामीले कुराकानीहरू गरिरहेका छौँ। समस्या समाधानका लागि पहल गरिरहेका छौँ र निरन्तर रूपमा अवस्थाको पर्यवेक्षण पनि गरिरहेका छौँ।”
उनले थपिन्, “पहिलादेखि नै अड्किएका कतिपय समस्या समाधान हुन समय लागेका हुन्। तर त्यो समाधान हुन्छ भन्ने हाम्रो विश्वास छ।”
उनले सर्तरहित रूपमा सबै किसिमका अवागमनमा चिनियाँ पक्षले सहजिकरण गर्नुपर्नेमा नेपाल सरकारले जोड दिइरहेको बताइन्।
केरूङ नाकाको अवस्था
चीन र नेपालबीच सबैभन्दा बढी कारोबार हुने यो नाकामा चीनले मितेरी पुलमा ल्याइदिएका सामान बोकेर सोमवार १२ वटा ट्रकहरूमात्रै नेपाल प्रवेश गरेको रसुवा भन्सार कार्यलयका प्रमुख पूण्यविक्रम खड्काले बताए।
भन्सार कार्यलयका प्रमुख खड्का भन्छन्, “सोमबार मात्रै चिनियाँ पक्षले श्रमिक र चालकहरूको सङ्ख्या बढाउन र आफ्नो तर्फबाट सवारी साधनहरू बढाउँदैछौँ भनेर सन्देश पठाएका छन्।”त्यहाँ चिनियाँ पक्ष र नेपाली पक्षबीच श्रमिक र चालकहरूको कोरोना भाइरस परीक्षणको विषयलाई लिएर पनि मतभेद छ।
सुरूमा प्रत्येक साता सबै श्रमिक र चालक दलका सदस्यहरूको पीसीआर परीक्षणको रिपोर्ट माग गरेको चिनियाँ पक्षले अहिले प्रत्येक दुई सातामा त्यस्तो रिपोर्ट दिन भनिरहेको छ।यो वर्ष ११ अर्ब ३३ करोड रुपियाँ राजश्व उठाउने लक्ष्य लिएको रसुवा भन्सार कार्यलय हालसम्म ९२ करोड रूपैयाँमात्रै संकलन गरेको छ।