काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा ४०.५९ प्रतिशतले बढेको छ ।चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७५ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको थियो।यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनाम ३० करोड ५७ लाख रुपैयाँ बढी हो।
जनता बैंकलाई गाभेपछि बैंकको नाफा बढेको हो । यसबीचमा बैंकको खुदब्याज आम्दानी बढेपछि नाफामा सकरात्मक प्रभाव परेको बिहीबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । बैंकको वितरण योग्य नाफा २२ करोड ६१ लाख रुपैयाँ मात्र छ।
जगेडा कोषमा ५१ करोड ८९ लाख रुपैयाँ छुट्याउँदा बैंकको वितरण योग्य नाफा कम भएको वित्तीय विवरणमा उल्लेख छ । बैंकको खुदब्याज आम्दानी १ अर्ब २ करोड ८८ लाख रुपैयाँ बढेर २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ पुगेको छ।
नाफा बढे पनि बैंकको प्रतिरेयर आम्दानी घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाशमा २८ रुपैयाँ ८७ पैसा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ रुपैयाँ ५५ पैसा घटेर २२ रुपैयाँ ३२ पैसामा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ५९ पैसा छ ।
जनतालाई विलय गराएपछि बैंकको चुक्तापुँजी १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा ९ अर्ब २६ करोड ७१ लाख रुपैयाँ जम्मा भएको छ ।
पछिल्लो ३ महिनामा बैंकको निक्षेप २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँबाट बढेर २ खर्ब २४ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। कर्जा लगानी १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब ७३ रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
पहिलो त्रैमाशमा बैंकको निष्क्रिय कर्जा अनुपाता बढेर १.८३ प्रतिशत पुगेको छ । बैंकको आधार दर घटेर ७.२५ प्रतिशत पुगेको छ। बैंकको स्प्रेडदर ५ प्रतिशत पुगेको छ।