काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६२ करोड ३८ लाख रुपैयाँ खुदनाफा गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८४ करोड ४४ लाख रुपैयाँ खुदनाफा कमाएको थियो। गत आर्थिक वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमाशमा बैंकको नाफा २२ करोड ६ लाख रुपैयाँ घटेको छ ।
बैंकको खुद ब्याज आम्दानी बढे पनि अन्य सञ्चालन आम्दानी घटेका कारण खुदनाफामा गिरावट आएको बैंकले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमाशको वित्तीय विवरणमा उल्लेख छ ।
सो नाफाबाट बैंकले सेयरधनीहरुलाई २० करोड ५० लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने देखिएको छ।बैंकको निष्क्रिय कर्जा २.८० प्रतिशत पुगेको छ । यस्तै आधारदर ७.३४ प्रतिशत र स्प्रेडदर ४.१४ प्रतिशतमा झरेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी १० करोड ६३ लाख बढेर १ अर्ब ६३ करोड ३५ लाख रुपैया पुगेको छ।खुदनाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि घटेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २६ रुपैयाँ २५ पैसा रहेको थियो ।
बैंकको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १७ रुपैयाँ ५१ पैसामा सीमित भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ३८ पैसा रहेको छ।
बैंकको चुक्तापुँजी १४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ छ । जगेडा कोषको आकार बढेर१२ अर्ब १ करोड ५४ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेप १ खर्ब ६६ अर्ब ३६ करोडबाट बढेर १ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
यसअवधिमा कर्जा सापटी १ खर्ब ३५ अर्ब ४५ करोडबाट बढेर १ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ पुगेको जनाएको छ ।