काठमाडौं । सेयर बजार निरन्तर बढेर तिहारअघि लगानीकर्तालाई धेरै खुसी बनायो । साताको अन्तिम दिन सेयर बजार १०.८२ अंक बढेर नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक १ हजार ७१८ अंकमा पुगेको छ ।
पछिल्लो समयमा बजार बढेसँगै सेयर कारोबार रकममा पनि वृद्धि भएको छ । बजार घटे पनि कारोबार उल्लेख्य हुने गरेको छ । तिहारअघिको बिहीबार ४ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ बराबरको १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता सेयर किनबेच भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएयता यो हालसम्म कै सर्वाधिक कारोबार हो ।
सेयर बजार निरन्तर बढ्दा लगानीकर्ताले कमाउन सफल भएका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण बढेर २३ खर्ब २ अर्ब ७६ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
पछिल्लो समयमा लगानीकर्ता उत्साहित हुँदा बजार निरन्तर बढेको छ । दसैंअघि बजार पुँजीकरण २१ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको थियो । तिहारअघि बजार पुँजीकरण १ खर्ब ५६ अर्ब रुपैयाँले बढेको छ ।
सेयर बजार ‘बुलिस ट्रेन्डमा’ रहेकाले तिहारपछि पनि बजारले पुरानै गतिलाई निरन्तरता दिने देखिएको छ । यद्यपि, तिहारअघि बढेको बजार पछि पनि लय लिन्छ कि लिँदैन भन्ने चासो लगानीकर्ताको छ । सेयर बजार अहिले ‘बुलिस ट्रेन्डमा’ छ ।
बैंकमा अधिक तरलताले गर्दा ब्याजदर कम हुँदै गएकाले पनि यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली बताउँछन् ।
‘सेयर बजार बढाउने पहिलो तरलता तथा ब्याजदर र अर्को संस्थाको पुँजीवृद्धि योजना हो । विगतको अनुभवलाई हेर्दा यी दुईवटा तत्वले बजारलाई बढी असर गरेको छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘अहिले तरलता अधिक छ । ब्याजदर घटिरहेको छ । अझै घट्दो क्रममै छ ।’
अहिले बैंकको मुद्दती निक्षेपमा राख्नुभन्दा सेयरमा लगानी गर्दा बढी प्रतिफल आउने देखिएको उनको भनाइ छ । कोरोना महामारीले लगानीका अन्य क्षेत्र खुम्चिएका कारण पनि नयाँ लगानीकर्ताको प्रवेश सेयर बजारमा भएको उनको भनाइ छ । अध्यक्ष मैनालीका अनुसार सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश धेरै भएको छ ।
२०७३ साउन १२ गते बजार बढेर १८८१.४५ अंकमा पुगेको थियो । यो हालसम्म सर्वाधिक माथि हो । तिहारपछि सेयर बजारले लय समाउँदै गएमा एक महिनाभित्र बजारले सो रेकर्डलाई तोड्ने देखिन्छ । पुरानो रेकर्ड तोड्न अब १६४ अंक बढे पुग्छ ।
सेयर बजार ‘बुलिस ट्रेन्डमा’ रहेको अवस्था छ । यसले गर्दा लगानीकर्ताको विश्वास पनि बढाएको छ । यसले आगामी दिनमा सेयर बजार निरन्तर बढ्ने संभावना पनि देखिन्छ । यस्तै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर प्रक्रिया थाल्न दबाब दिइरहेको छ ।
केही बैंकबीच मर्जरमा जानका लागि छलफल पनि भइरहेको छ । मर्जरले पनि बजारलाई गति दिने अनुमान गर्न सकिन्छ । यस्तै बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरूको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक भइसकेका छन् । यस्तै कम्पनीहरूले सेयरधनीहरूलाई दिने लाभांश पनि घोषणा गरिरहेका छन् । यसले पनि बजारलाई बढाउन सहयोग पुग्ने अनुमान गर्न सकिन्छ ।
बजार बढ्दा जलविद्युत् कम्पनीहरूको सेयर मूल्य बढेको छ । अधिकांश कम्पनीको सेयर मूल्य १०० रुपैयाँभन्दा कम भएकामा भदौयता बढेर अधिकांश कम्पनीको सेयर मूल्य माथि पुगेको छ ।