काठमाडौं । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । २७ मध्ये २६ वटा बैंक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छन् । यसमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको वित्तीय विवरण समेटिएको छैन् ।
कोरोना भाइरस महामारीअघि सेयरधनीहरुलाई आकर्षक प्रतिफल वितरण गर्दै आएका अधिकांश बैंकहरुको नाफामा यसपटक भने संकुचन आएको छ । पहिलो त्रैमाससम्म ९ वटा वाणिज्य बैंकहरुको खुदनाफा बढेको छ । यस्तै १७ बैंकको खुदनाफा भने घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा बढाउनेमा एनएमबि बैंक रहेको छ । एनएमबीको नाफा १६९ प्रतिशत बढेको छ । पहिलो त्रैमासमा एनएमबीले ७३ करोड २९ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा एनएमबीको नाफा २७ करोड १८ लाख रुपैयाँ थियो । यस्तै रकमका आधारमा सबैभन्दा बढी नाफा गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ ।
ग्लोबल आईएमईको नाफा साढे ४० प्रतिशत बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । जनता बैंकलाई मर्ज गरेपछि ग्लोबलको नाफामा बढोत्तरी आएको हो । पहिलो त्रैमाशमा १ अर्ब रुपैयाँ भन्दा बढी नाफा गर्नेमा प्राइम कमर्शियल बैंक रहेको छ । प्राइमको नाफा ५४ प्रतिशत बढेर १ अर्ब २ करोड, नबिल बैंकको १ अर्ब ३ करोड रुपैयाँ छ ।
पहिलो त्रैमासमा नबिलको नाफा ७ प्रतिशत घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै एनआईसी एसिया बैंकको नाफा १ अर्ब रुपैयाँ बढी छ ।
यस्तै प्रतिशतका आधारमा सिटिजन्स बैंकको ४७, प्रभु बैंकको ३५, कुमारी बैंकको ४९, मेगा बैंकको ३८, नेपाल बंगलादेश बैंकको ४१.९० प्रतिशत बढेको छ ।
५ वटा बैंकको मात्रै वितरण योग्य नाफा बढेको छ । वितरण योग्य नाफा बढ्नेमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल, नबिल बैंक र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक रहेका छन् । प्रतिशतका आधारमा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा धेरै वितरण योग्य नाफा बढ्नेमा नेपाल बैंक रहेको छ ।
नेपाल बैंकको वितरण योग्य नाफा १९९ प्रतिशते ले बढेर १९ करोड ६४ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ६ करोड ५६ लाख रुपैयाँ मात्र थियो । रकमका आधारमा धेरै वितरण योग्य नाफा नबिल बैंकको छ । नबिलको १ अर्ब २० करोड ८८ लाख रुपैयाँ वितरणयोग्य नाफा छ । यस्तै सिभिल, सनराइज, सिद्धार्थ, सेन्चुरी, बैंक अफ काठमान्डू र सानिमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ११ बैंकको खुद ब्याज आम्दानी बढेको छ । यता, १५ बैंकको खुद ब्याज आम्दानी भने घटेको पाइएको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ ।
ग्लोबलको खुदब्याज आम्दानी ६५ प्रतिशतले बढेर २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ पुगेको छ । एभरेष्ट, नेपाल, प्रभु, कुमारी, प्राइम, नबिल, एनएमबि, सिद्धार्थ, एनआइसी एसिया, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको ब्याज आम्दानी १ अर्ब रुपैयाँ बढी देखिएको छ ।