काठमाडौं । डेढ अर्ब रुपैयाँभन्दा बढी फसेको रकम फिर्ता लिन हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले शुक्रबार कुरेका छन् ।
चीन तल्लो अदालतबाट मुद्दा जितेको खबर पाएपछि हिमालयन र बीओकेले पैसा फिर्ताका लागि दाबी पठाइसकेका छन् । चाइना कन्ट्रक्सन बैंकले चीनको उच्च अदालतमा अपिल नगरे शुक्रबार नै हिमालयन र बीओकेले रकम फिर्ता पाउने छन् ।
चाइना कन्ट्रक्सनले तल्लो अदालतको फैसलाको विरुद्धमा उच्च अदालतमा अपिल गरेमा पैसा फिर्ता पाउन अझै कही महिना कुर्नुपर्ने अवस्था आउने हिमालयनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशमशेर राणाले बताए ।
‘उच्च अदालतको आदेशमा तल्लो अदालतले गरेको फैसला रिभ्यु गर्दा हामीले मुद्दा जितेका हो,’ उनले भने, ‘चाइना कन्ट्रक्सन बैंकले अपिल गर्न पाउने र गरे पनि हामी मुद्दा जित्ने छौं,’ उनले भने ।
मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर लामो सुरुङलगायत अन्य संरचना निर्माणको ठेक्का पाएको चाइना रेल्वेको तर्फबाट चाइना कन्ट्रक्सन बैंक ग्यारेन्टी बसको र नेपालतर्फको काउन्टर ग्यारेन्टी हिमालयन र बीओकेले दिएका थिए ।
ठेकेदार चाइना रेल्वे १५ ब्युरो कर्पोरेसनले सम्झौताअनुसार काम नगरेपछि मेलम्ची खानेपानी विकास समितिले उसको धरौटी रकम जफत गरेको थियो । त्यसबेला हिमालयन र बीओकेले धरौटी रकम समितिले बुझाएका थिए ।
समितिको निर्णयको विरुद्धमा ठेकेदार चाइना रेल्वे र चाइना कन्ट्रक्सन बैंकले चीनमा मुद्दा दायर गरेका थिए । मेलम्ची जमानतको रकम भुक्तानी भए बीओकेले ६६ लाख २५ हजार अमेरिकी डलर र हिमालयनले पनि ६६ लाख डलर करिब ६६ करोड रुपैयाँ फिर्ता पाउने छन् ।
लामो समयसम्म चीनको अदालतमा सुनुवाइ भइरहेको थियो । यो मुद्दा चलेको करिब ८ वर्षपछि दुवै बैंकले मुद्दा जितेका हुन् । काउन्टर ग्यारेन्टी बसेका दुबै बैंकको लगानी डुबेपछि प्रोभिजनिङ गरिसकेका छन् । सो रकम फिर्ता आएमा दुबै बैंकको नाफा बढ्ने छ ।