काठमाडौं । उद्योगी मोतीलाल दुगड उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राज्यमन्त्रीका रूपमा प्रवेश गरेपछि धेरै उद्योगीबीच उत्साहको सञ्चार भयो ।
भनेको समयमा काम सम्पन्न हुने, विषयवस्तुका बारेमा बुझाउन सजिलो पर्ने र अप्ठयारा कानुन परिमार्जन हुने र देशभित्र लगानीको वातावरण बन्छ भन्नेमा उद्योगीहरू ढुक्क थिए । उद्योगीहरूले किन पनि त्यति विश्वास गरेका थिए भने, मोतीलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र पनि हुन् ।
ओलीसँगको निकटताकै कारण उनी समानुपातिकबाट सांसद बनेका थिए भने पछि आएर उद्योग राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन् । उनले उद्योग मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी सम्हालेको पनि मंसिर ५ गते एक वर्ष पुगेको छ ।
प्रधानमन्त्री ओलीसँग उनको जुन तहको सम्बन्ध छ, त्यसअनुसार उनले उद्योग मन्त्रालमा रिजल्ट निकाल्न भने सकेनन् । काम गर्ने तप्परता देखाए, आफू सक्रिय भएर लागे, व्यवसायीका समस्यालाई राम्रोसँग बुझे, नीतिगत अप्ठ्यारोलाई चिर्ने प्रयास गरे । तर, उनीहरू पूर्ण अधिकार नभएकाले उनले जे/जति काम कारबाहीलाई अघि बढाए, त्यहाँबाट रिजल्ट भने आउन सकेन् ।
‘उहाँसँग काम गर्ने इच्छाशक्ति अथाह छ, हरेक व्यवसायीका समस्यालाई राम्रोसँग बुझ्नुहुन्छ, सुन्नुहुन्छ । समाधान गर्न कोसिस पनि गर्नुहुन्छ,’ सौरभ समूहका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले मन्त्री दुगडको एक वर्षे कार्यकाल समीक्षा गर्दै भने, ‘यदि उहाँलाई पूर्ण अधिकार दिएको भए, उद्योग मन्त्रालयमा धेरै काम हुन्थ्यो । उहाँसँग काम गर्ने इच्छाशक्ति भएर पनि कार्यान्वयन तहमा दुगडको केही चल्दैनन् । त्यही भएर रिजल्ट आएन ।’
मन्त्री दुगड मन्त्रालयको जिम्मेवारी लिएकै दिन निजी क्षेत्रलाई विश्वासमा लिने, उनीहरूका समस्या समाधान गर्ने, उनीहरूका समस्या सुन्ने र लगानीको वातावरण बनाउन आफ्नो भूमिका अहम रहने बताएका थिए । त्यति मात्रै होइन्, उद्योगी/व्यवसायीले अब आइन्दा आफ्नो समस्याको फाइल बोकेर अर्थ मन्त्रालय धाउनु पर्ने बाध्यतालाई हटाउने र उद्योग मन्त्रालय वास्तविक रूपमै उद्योगीको मन्त्रालय बनाउने बताएका थिए ।
उनी उद्योग राज्यमन्त्री भएर गएपछि उद्योगीलाई विश्वासमा लिन सफल भए, उनीहरूका समस्यालाई राम्रोसँग बुझे, व्यवसायीलाई सबैभन्दा पहिला भेटे, उनीहरूका समस्यालाई समाधान गर्न अहोरात्र खटिए । ‘तर, समाधान भने हुन सकेनन्– कारण उनीहरूसँग समाधान गर्ने अधिकार थिएन ।
त्यही भएर उहाँले राज्यमन्त्रीका रूपमा जे/जति गर्नुभयो, त्यो पर्याप्त नै हो,’ नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले भने, ‘यदि उहाँलाई पूर्ण अधिकारसहित उद्योग मन्त्रालयको जिम्मेवारी दिएको भए, सायद धेरै काम हुन्थ्यो होला । वा काम नभएको भए उहाँको आलोचना गर्न सकिन्थ्यो ।’
राज्यमन्त्री दुगडको कामलाई लिएर आचोलना गर्ने ठाउँ छैन् । किनभने राज्यमन्त्रीलाई पूर्ण अधिकार छैन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट छन् । सबै अधिकार उनीसँग छ । दुगड अधिकारविहीन राज्यमन्त्री हुन् ।
‘राज्यमन्त्रीको रूपमा दुगडले निभाउनु पर्ने भूमिका र पूरा गर्नुपर्ने दायित्व पूरा गर्नुभएको छ,’ उद्योगी शशिकान्त अग्रवालले भने, ‘यस अघिसम्म उद्योगी व्यवसायीका समस्या सुन्ने फुर्सद मन्त्रीमा विरलै हुन्थ्यो ।
समस्या राख्न नपाई कार्यकक्षबाट निस्किनुपर्ने बाध्यता थियो । मन्त्रीलाई हाम्रो समस्या बुझाउनै कठिन हुन्थ्यो । तर, दुगडले यो सबै समस्यालाई चिर्ने प्रयास गर्नुभयो ।’
दुगडसँग व्यवसायीले अपेक्षा पनि बढी गरेका थिए । किनभने दुगड प्रधानमन्त्री ओलीको निकट मान्छे हुन् । प्रधामन्त्रीसमक्ष लविङ गरेर भए पनि व्यवसायीका समस्या हल हुन्छन् भन्ने आश उद्योगी/व्यवसायीले राखेका थिए । तर, त्यो सम्भव नभएको उद्योगीहरू बताउँछन् ।
राज्यमन्त्री दुगड उद्योग विभागमा भएका विकृतिलाई हटाउन, कम्पनी रजिष्ट्रारको कार्यालयमा हुने भ्रष्टाचारलाई रोक्न भने असफल भए । उद्योग विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयमा कति विकृति छ भन्ने कुरा उद्योगराज्यमन्त्री दुगड जति जानकार सायद अरू कोही छैनन् । तर, पनि त्यो विकृति अहिले पनि कायम छ ।
‘इच्छाशक्ति हुँदाहुँदै पनि रिजल्ट देखिएको छैन । उहाँसँग भेट्दा, उहाँका कुरा सुन्दा समस्या समाधान भइहाल्छन् जस्तो लाग्छ,’ उद्योगी राजेशकुमार अग्रवालले भने, ‘देशभित्रका उत्पादनलाई संरक्षण गर्न, आत्मनिर्भर भएका वस्तुको आयातलाई रोक्न, आत्मनिर्भर भएका वस्तुको सूची बनाउन राज्यमन्त्री दुगडको पहल चर्चायोग्य छन् ।’
उद्योगीले भोग्दै आएका समस्या स्वयम् दुगडका पनि समस्या हुन् । दुगड आफैं एक सफल उद्योगी हुन् । व्यावसायिक जीवनमा उनले सरकारी निकायले दिने दुःखको राम्रोसँग महसुस गरेका छन् दुगडले । तर, आज उनी समाधान गर्ने ठाउँमा पुगे पनि त्यसले अन्तिमरूप नभएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठ बताउँछन् । राज्यमन्त्रीकाे रूपमा रहेर अहिलेसम्म कुनै पनि राज्यमन्त्रीले यतिधेरै सक्रियता र काम अरू कसैले पनि नगरेकाे उनकाे भनाइ छ ।