काठमाडौं । सेयर मूल्य निरन्तर बढेपछि नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड गत साता बजार पुँजीकरणको दोस्रो स्थानमा उक्लियो । त्यसबेला नेपाल रि–इन्स्योरेन्सको बजार पुँजीकरण १ खर्ब रुपैयाँ नजिक पुगेको थियो ।
तर, यो साता कम्पनीको बजार पुँजीकरण बढेर १ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । नेपाल रि–इन्स्योरेन्स नेपालको दोस्रो महँगो कम्पनी बनेको छ । कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार ११० रुपैयाँ पुगेको छ । बिहीबार पनि कम्पनीको सबैभन्दा बढी ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीमा सरकार, बिमा कम्पनीहरू र सर्वसाधारणको लगानी छ । कम्पनीको चुक्तापुँजी १० अर्ब रुपैयाँ छ ।
गत असार १५ गते नेपाल रि–इन्स्योरेन्सको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार सुरु भएको थियो । कारोबार सुरु भएको केही दिनपछि कम्पनीको सेयर मूल्य निरन्तर बढिरहेको मात्रै छैन सबैभन्दा बढी रकमको कारोबार हुँदै आइरहेको छ । पछिल्लो समय सेयर बजारमा उछाल आएपछि नेपाल रिलगायत नेप्सेमा सूचीकृत अन्य कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएको छ ।

यही क्रमले सेयर मूल्य बढ्दै गएमा नेपाल रि–इन्स्योरेन्सले नेपाल टेलिकमलाई बजार पुँजीकरणमा पछि पार्ने संभावना छ । नेपाल टेलिकम बजार पुँजीकरणका आधारमा पहिलो स्थानमा छ । नेपाल टेलिकमको सेयर मूल्य बढेपछि बजार पुँजीकरण १ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । आजको अवस्था हेर्दा नेपाल रिकोभन्दा टेलिकम ३४ अर्ब ७५ करोड रुपैयाँले बजार पुँजीकरण बढी छ ।
नेपाल रि–इन्स्योरेन्सको सेयर मूल्य वृद्धि र दैनिकजसो सबैभन्दा बढी कारोबार हुने क्रम किन भइरहेको छ ? कम्पनीले पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने हल्ला छ । ७ औं वार्षिक साधारणसभाले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्ने अनुमान लगानीकर्ताको छ । यही कारणले गर्दा लगानीकर्ताहरू नेपाल रि–इन्स्योरेन्सको सेयर किन्न झुम्मिएको अनुमान गर्न सकिन्छ ।
दोस्रो कारण नजिकिँदो साधारणसभा हो । साधारणसभाले नयाँ सञ्चालकको चयन गर्ने भएपछि कम्पनीको सञ्चालक बन्न केही समूहहरूले ठूलो परिमाणमा सेयर उठाइरहेका छन् । आफू अनुकूलको सञ्चालक पठाउन लगानीकर्ताले अधिकतम सेयर होल्ड गर्ने कारण पनि हुन सक्छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीले चालू वर्षमा लाभांश पाउने संभावना छ । अघिल्लो वर्षसम्म लाभांश नबाँडेको कम्पनीले गत वर्षको नाफाबाट बाँड्न पाउँछ ।
कम्पनी स्थापना हुँदा आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तीमा ५ वर्षसम्म नाफाको रूपमा बाँडफाँड नगरी अनिवार्य रूपमा जगेडा कोषमा राख्नु पर्ने व्यवस्था गरिएका कारण लाभांश वितरण नभएको हो ।
निषेध अवधि सकिएकाले लगानीकर्तामा राम्रो लाभांश घोषणा हुने अपेक्षा छ । कम्तीमा १५ प्रतिशत लाभांशको अनुमान लगानीकर्ताको छ । गत आर्थिक वर्षमा कम्पनीले जीवन तथा निर्जीवन बिमा व्यवसायबाट १ अर्ब २७ करोड ७१ लाख रुपैयाँ खुदनाफा गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण आउन बाँकी छ ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले जीवन तथा निर्जीवन पुर्नबिमा व्यवसाय गरेर १ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो । सरकारले नै सबै बिमा कम्पनीहरूले कम्तीमा २० प्रतिशत पुनर्बिमा नेपाल रि–इन्स्योरेन्समा गर्नुपर्ने व्यवस्था गरेको छ ।
यसले गर्दा बिमा कम्पनीहरूको कारोबार बढ्दै जाँदा नेपाल रिको स्वाभाविक रूपमा कारोबार बढ्ने देखिन्छ । कारोबार बढेपछि नाफा पनि सोहीअनुसार वृद्धि हुँदै जान्छ । नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण बढेर २३ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।