काठमाडौं । दसैं–तिहारपछि औद्योगिक उत्पादनमा केही सुधार आए पनि माग बढ्न सकेको छैन । सरकारले वस्तुको माग बढाउन कुनै पनि उपायहरू नल्याएका कारण उत्पादन बढे पनि बिक्रीमा सुधार नआएको उद्योगीहरूले बताएका छन् ।
‘अहिले गत वर्षको मंसिरको तुलनामा २० प्रतिशत माग कम छ,’ सौरभ समूहका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले भने, ‘मानौं, गत वर्षको मंसिरमा १ करोड रुपैयाँको मालसामान बिक्री भएको थियो भने अहिले ८० लाख रुपैयाँको मात्रै मालसामान बिक्री भइरहेको छ ।’
दसैं–तिहारलगायतका चाडबाड सकिएपछि औद्योगिक उत्पादनमा सुधार आएको छ । तर, बिक्रीमा भने त्यसअनुरूप सुधार नआएको उनको भनाइ छ ।
न्यौपानेका अनुसार दुई महिना अघिको तुलनामा अहिले व्यापारमा केही सुधार आएको छ । त्यसैलाई हेरेर अहिले चित्त बुझाइरहेको उनको भनाइ छ ।
‘तर, गत वर्षको सोही अवधिलाई हेर्ने हो भने त्यो ठाउँमा व्यापार पुगेको छैन,’ उनले भने, ‘व्यापारमा हरेक वर्ष १० देखि २० प्रतिशतको वृद्धि हुन्छ । गत वर्षको तुलनामा यो वर्ष १० देखि २० प्रतिशत बढ्नुपर्नेमा उल्टै पोहोरको तुलनामा २० प्रतिशत कम छ । यो भनेको ४० प्रतिशत हो ।’
सरकारले माग बढाउन कुनै पनि उपायलाई अबलम्बन नगरेको उद्योगीहरू बताउँछन् ।
बजेट तथा मौद्रिक नीतिमा उल्लेख भएका कार्यक्रमहरूमध्ये १० प्रतिशत पनि कार्यान्वयन भएको छैन । मौद्रिक नीति आएको पनि ४ महिना पुगिसकेको छ । बजेट आएको ६ महिना बितिसकेको छ । तर, अहिलेसम्म बजेट तथा मौद्रिक नीतिमा उल्लेख भएका कुराहरू कार्यान्वयन नहुँदा माग बढ्न नसकेको उद्योगी राजेश अग्रवाल बताउँछन् ।
सरकारले नीति जारी गर्ने तर, त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण औद्योगिक उत्पादनको माग बढ्न नसकेको उनीहरूको भनाइ छ ।
अग्रवालका अनुसार सरकारले बजारमा माग बढाउनका लागि केही औजारहरू घोषणा गरे पनि कार्यान्वयन भएनन् । ‘मौद्रिक नीतिमा ल्याएका कुराहरू १० प्रतिशत पनि कार्यान्वयन भएका छैनन्,’ उनले भने, ‘पर्यटन क्षेत्रलाई उकास्न ५० अर्बको कोष बनाउने भनियो, उद्योग व्यापारलाई १ खर्बको कोष बनाउने र पुनर्कर्जा उपलब्ध गराउने घोषणा गरियो ।’
सरकारले उक्त कार्यक्रम घोषणा गरेका ४ महिना भयो । यो अवधिमा जम्मा ५ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा पाएका छन् । किन यति मात्रै भयो ? टाइमलाइनमा किन भएन भनेर कसैले नसोध्ने गरेकाले पनि प्रभावकारी कार्यान्वयन नभएको उनको भनाइ छ ।
‘समयमा काम नहुनुको पछाडि को÷को दोषी छन् ? राष्ट्र बैंकले समयमा काम गरेन कि वा बैंकहरूले गरेनन् कि वा उद्योगीहरूले चाहिने डकुमेन्ट बुझाएनन् कि ?’ अग्रवालले प्रश्न गरे, ‘यहाँ कसै न कसैको त पक्कै गल्ती होला । केही न केही टाइमलाइन बनाएर काम गरेको भए नीतिहरू पनि कार्यान्वयनमा आउँथे र त्यसको असर बजार तथा औद्योगिक उत्पादनमा पथ्र्याे ।’