काठमाडौं । सरकारले आफ्नो खर्चमा बनाएको संरचना प्रयोग गरेर ब्रोकर कम्पनीले मनग्य आम्दानी गर्दा पनि कमिसन शुल्क घटाउन नियामकले चासो दिएको छैन । टिएमएस, मेरो सेयरलगायतका संरचना सरकारले बनाएर ब्रोकर कम्पनीको जिम्मा लगाएको हो । त्यही संरचना प्रयोग गरेर ब्रोकर कम्पनीले दैनिक करोडौं रुपैयाँ कमाइरहेका छन् ।
लगानीकर्ताबाट चर्को कमिसन लिएर ब्रोकरहरु मालामाल हुँदा पनि धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्डले हालको शुल्क घटाउने विषयमा कुनै चासो दिएको छैन । हालको शुल्क नघटाउन धितोपत्र बोर्ड, ब्रोकर एसोसिएसन र लगानीकर्ता संघसमेत मिलेको छ । लगानीकर्ता संघले ब्रोकर कमिसन घटाउन बोर्डलाई दबाब दिएको भए हालको कमिसन घटिसक्थ्यो ।
सेयर कारोबारले दैनिक रुपमा रेकर्ड बनाइरहेको र ब्रोकर कम्पनी पनि मालामाल भइरहेका छन् । अहिले ५० हजार रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ६० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म शून्य दशमलव ५५ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्म शून्य दशमलव ५० प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म शून्य दशमलव ४५ प्रतिशत र १ करोड रुपैयाँमाथि शून्य दशमलव ४ प्रतिशत कमिसन लाग्छ ।
सेयर लगानीकर्ताका अनुसार अधिकांश कारोबार शून्य दशमलव ५५ प्रतिशत कमिसन लाग्नेमा हुन्छ । शून्य दशमलव ६० तथा शून्य दशमलव ५० मा कारोबार नै कम हुन्छ ।
धितोपत्र बोर्डले ५ तहको कमिसनदर निर्धारण गरेको बताए पनि न्यून कमिसनदरमा कारोबार नै नहुने लगानीकर्ताहरु बताउँछन् । एकैपटक लाखौं कित्ता किनबेच नै हुँदैन । बिक्रीका लागि राखियो भने टुक्रा टुक्रा पारेर मात्रै सेयर बिक्री हुन्छ । टुक्रा पारेर बिक्री गर्ने बित्तिकै बढी कमिसन लाग्नेमा पर्ने गरेको सेयर लगानीकर्ताहरु बताउँछन् ।
विगत १० वर्षदेखि सेयर कारोबारमा संग्लन प्रदीप मैनालीका अनुसार शून्य दशमलव ४ र शून्य दशमलव ४५ प्रतिशत कमिसन लाग्नेमा मध्यम तथा साना लगानीकर्ताको कारबोर नै हुँदैन । ‘एक हजारमा एक/दुई जनाको कारोबार होला’ उनले भने, ‘त्यसलाई देखाएर शून्य दशमलव ४ प्रतिशत कमिसनमा कारोबार हुन्छ भन्ने होइन् ।’