काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नयाँ सेयर कर्जा दिन बन्द गरेका छन् । केन्द्रीय बैंकले तोकेको सीमा पूरा भएपछि बैंक तथा वित्तीय संस्थाहरुले नयाँ सेयर कर्जा दिन बन्द गरेका हुन् ।
लगानीका सबै क्षेत्र कोरोना महामारीका कारण खुम्चिएकाले बैंकहरुले धमाधम माग्नेलाई सेयर कर्जा दिँदै आएका थिए । त्यो पनि सीमा पूरा भएपछि बन्द गरेका छन् ।
सेयर कर्जा माग्नेलाई बैंकले निसंकोच ऋण दिने गरेको थियो । कतिपय बैंकले बिनाधितो पनि करोडौं रुपैयाँसम्म सेयर कर्जा दिएका थिए । तर, अहिले सबै बैंक तथा वित्तीय संस्थाको ‘लिमिट क्रस’ गर्न थालेपछि पूर्ण रुपमा त्यस्तो कर्जा बन्द गरेका छन् ।
बैंकहरुले प्राथमिक पुँजीको ४० प्रतिशत सेयरमा लगानी गर्न पाउँछन् । त्यसभित्र चुक्तापुँजी, रिजर्भ, बोनस दिन भनेर छुट्याएको रकम वा हकप्रद दिनका लागि संस्थापकबाट उठाएको पैसा, डिवेञ्चरहरु पर्छन् । त्यो सीमा पूरा भएकाले बैंकहरुले अहिले सेयर कर्जा बन्द गरेका हुन् ।
उत्पादनमूलक उद्योग शिथिल छ । नयाँ उद्योग लगाउन कोही लगानीकर्ता इच्छुक छैन । निर्माणाधीन होटलहरु बीचमै अलपत्र परेका छन् । नयाँ उद्योग खोल्ने काम रोकिएको छ । एलसी पनि छिटफूट रुपमा मात्रै खोलिएको छ ।
घरजग्गामा पनि मन्दी आएको छ । त्यही भएर बैंक भएभरको पैसा सेयरमा लगानी गरेकाले राष्ट्र बैंकले दिएको ४० प्रतिशतको सीमा पूरा भएकाले सेयर लोन दिन पूर्ण रुपमा बन्द गरिएको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले जानकारी दिए ।
‘बैंकमा नयाँ सेयर लोन माग्न आउनेको लाइन छ । तर, हाम्रो लिमिट पुगिसक्यो भन्दै फर्काउने गरेका छौं,’ ती सीईओले क्यापिटल नेपालसँग भने, ‘४० प्रतिशतको सीमा छोइसकेको छ । अब थप लगानी गर्न सक्ने अवस्था छैन ।’
अहिले केही ठूला बैंक र सेन्चुरी, सिभिल बैंकले मात्रै सेयर कर्जा दिइरहेका छन् । यी बैंकमा सेयर फुकुवा गर्न समय लाग्ने भएकाले ग्राहकहरु त्यता नगएका हुन् । बढेको बेलामा आफूसँग भएको सेयर बेच्नका लागि सेयर फुकुवा गर्र्दा गर्दै बजार घटबढ भइसक्ने भएकाले ती बैंकमा सेयर लोन लिन नै चाहँदैनन् ।
अहिले सेयर कर्जाको ब्याजदर पाँच वर्षयताकै कम भएको बैंकरहरु बताउँछन् । यसअघि ०७२ सालको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीपछि सेयर कर्जाको ब्याजदर एकल अंकमा झरेको थियो । अहिले पुनः त्यही अवस्था आएको उनीहरुको दाबी छ । तुलनात्मक रुपमा सेयर कर्जाको जोखिम भार बढी भए पनि नउठ्ने सम्भावना न्यून हुन्छ ।
बजार धेरै घटेपछि फोन गरेर पैसा थप्न लगाउने (मार्जिन कल) गर्न पाइने, परिपक्वको अवधि कम हुन्छ । यसकारण पनि असुली नहुने सम्भावना कम हुने बैंकहरु बताउँछन् ।
पछिल्लो एक/डेढ महिनायता बैंकहरुको ध्यान सेयर बजारमा गएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि स्वीकारे । ‘सिष्टममा पर्याप्त तरलता छ, लगानीको नयाँ क्षेत्र छैन, यसकारण केही सम्भावना देखिएको सेयर कर्जातिर बैंक लागेका हुन्’ उनले भने, ‘बजार निरन्तर बढेकाले उक्त क्षेत्रमा सम्भावना देखिएको हो ।’ बैंकहरुले एकल अंकको ब्याजदरमा सेयर धितोमा कर्जा प्रवाह गर्न थालेको पनि उनले बताए । केही बैंकहरुले सूचना प्रकाशित गरे धमाधम सेयर कर्जा लिन लगानीकर्तालाई बोलाएका थिए ।
सेयर धितोमा कर्जाको ब्याजदर औसतमा ३० देखि ३५ प्रतिशत घटेको लगानीकर्ता बताउँछन् । ‘यसअघि सेयर धितोमा लगानी नगर्ने ठूला वाणिज्य बैंक पनि सेयर कर्जाकै लागि छुट्टै ‘प्रडक्ट’ बनाएर बजार आएका छन्,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तमकुमार अर्यालले भने ‘एक÷दुई दिनमा ८ देखि ९ प्रतिशत ब्याजदरमै ऋण पाइन्छ ।’ तर, अहिले बैंकले सीमा छोएकाले ऋण दिन बन्द गरेका छन् ।
चालू आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा पनि बढाएको छ । नयाँ व्यवस्थाअनुसार सेयर धितो राखी प्रवाह हुने कर्जामा वित्तीय संस्थाले धितोको ७० प्रतिशतसम्म प्रदान गर्न पाउँछन् ।
यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । यस्तै सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्यांकन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ, त्यसैका आधारमा गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी १२० दिन बनाइएको छ ।
यो व्यवस्थाले पनि लगानीकर्ताले एउटै धितोमा पनि पहिलेभन्दा धेरै कर्जा लिन पाउँछन् । बैंकहरुले सेयर कर्जा बढाएपछि कारोबार रकम दुवै बढेर दिनको झण्डै ७ अर्ब रुपैयाँ बराबरको किनबेच हुन थालेकोे छ ।