काठमाडौं । लामो समयदेखि ग्यास बिक्रेताहरुले डिलर प्रमाणीकरण गरिदिन सरकारसँग माग गरे पनि अहिलेसम्म सो कार्यान्वयनमा आउन सकेको छैन ।
डिलर प्रमाणीकरण नहुँदा बिक्रेताहरुले जथाभावी ग्यास बिक्री गर्दा विकृति फैलिएको र बजारमा जोखिम समेत बढेको भन्दै ग्यास बिक्रेता महासंघले पटक पटक सरकारसँग डिलर प्रमाणीकरण गरिदिन माग गर्दै आएको छ ।
वाणिज्य विभागले डिलर प्रमाणीकरण गरेको छैन । लामो समयदेखि डिलर प्रमाणीकरण गर्न विभागलाई अनुरोध गरिए पनि हालसम्म कार्यान्वयन हुन नसकेको ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाको भनाइ छ ।
‘हामीसँगको धेरै पटकको भेटमा सरकारी निकायहरु वाणिज्य विभाग, नेपाल आयल निगम लगाएतले तत्कालै प्रमाणीकरण गर्ने आवश्वासन दिनुहुन्छ,’ उपाध्यक्ष थापाले भने, ‘कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन’ ।
डिलर प्रमाणीकरण भएमा एउटा डिलरले एउटा मात्र उद्योगको ग्याँस बिक्री गर्न पाउँछन् । यसो हुँदा उपभोक्ताहरुले डिलरै पिच्छे सिलिण्डर साट्न जानुपर्ने समस्या हट्छ भने ग्याँस सटहीमा बिक्रेताहरुले लिने अतिरिक्त शुल्क लिन पाउँदैन ।
अहिले बजारमा एउटै डिलरमा विभिन्न ग्यास उद्योगको सिलिण्डर बिक्रीका लागि राखेको पाइन्छ । त्यति मात्र हाेइन, तरकारी पसलदेखि खुद्रा पसलेहरुले समेत ग्यास बिक्री गर्दै आएका छन् । डिलर प्रमाणीकरण भएमा सो पसलले एउटा मात्र उद्योगको ग्यास बिक्री गर्न पाउँछन् भने त्यहाँ अरु पसलका सामानहरु राख्न पाउँदैन ।
डिलर प्रमाणीकरण भएमा कुन ग्यास कुन क्षेत्रमा पाइन्छ भन्ने जानकारी समेत उपभोक्तालाई हुन्छ । यसो हुँदा उपभोक्ताहरु ठगिने समस्या हुँदैन भने जोखिमसमेत कम हुन्छ ।
ग्यास सिलिण्डरमा आउने समस्याहरुको समेत यथेष्ट जानकारी हुनुपर्छ । अहिले तरकारी पसलदेखि खुद्रा पसलमा समेत ग्यास बिक्री गरिएकोले उनीहरुमा यो सबै ज्ञान नहुँन सक्छ । यदी कुनै ग्यास सिलिण्डरमा तत्कालै समस्या आयो भने नजिकको डिलरले त्यसको समधान गर्नुपर्छ । डिलर प्रमाणीकरण नहुँदा कुन पसलले त्यसको दायित्व बोध गर्ने भन्ने यकिन हुन सकेको छैन ।
ग्यास बिक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले डिलर प्रमाणीकरण हुन सकेमा बजारमा बेला-बेलामा हुने ग्यास अभावको समस्या समेत समधान हुने बताउँछन् । डिलर प्रमाणीकरण हुँदा कुन उद्योगको सिलिण्डर बजारमा कति छ र कति आवश्यक हुन्छ भन्ने एकिन जानकारी लिन सकिने हुँदा उद्योगी व्यवसायीहरुले ग्यास अभाव गराउने समस्या रोक्न समेत सहज हुने उनको भनाइ छ।
यता वाणिज्य विभागका महानिर्देशक नेत्र सुवेदीले डिलर प्रमाणीकरणका लागि आवश्यक कार्यविधिको मस्यौदा तयार भइसकेको बताए । ‘प्रारम्भिक मस्र्यौदा तयार भएको छ, केही विषयहरुमा छलफल गर्न आवश्यक रहेकोले ढिला भएको हो, महानिर्देशक सुवेदीले भने, अबको केही महिना भित्रै कार्यविधि आउँछ’ ।