काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले पूर्वाधारमा दीर्घकालीन लगानी जुटाउन दुईवटा वित्तीय औजारहरूबाट २५ अर्ब रुपैयाँ उठाउने प्रक्रिया अघि बढाएको छ । बैंकले २० अर्ब रुपैयाँको निफ्रा डेब्ट बण्ड स्थापना गर्ने भएको छ । बण्ड स्थापना गर्न बैंकले नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको छ ।
केन्द्रीय बैंकबाट स्वीकृति पाएपछि निफ्राले डेब्ट बण्ड निष्कासन गर्नेछ । यस्तै अफसोर ग्रिन फण्ड जारी गरी विदेशी वित्त बजारबाट थप ५ अर्ब रुपैयाँ भित्र्याउने प्रक्रिया अघि बढाएको बैंकले जानकारी दिएको छ । हालसम्म बैंकले २५ करोड रुपैयाँ मात्र दीर्घकालीन निक्षेप लिएको छ ।
कोरोना महामारी फैलिएपछि परियोजना लगानी ठप्प हुँदा बैंकले थप निक्षेप उठाएको छैन । बैंकको १२ अर्ब रुपैयाँ चुक्तापुँजी र दुई वर्षको नाफासमेत गरी कुल पुँजी बढेर १३ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी थालेको छ । यो समेत गर्दा बैंकको कुल पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।
स्थापनादेखि हालसम्म बैंकले जलविद्युत्, सिमेन्ट र सौर्य ऊर्जासमेत गरी ५ वटा परियोजनामा ६ अर्ब रुपैयाँ कर्जा स्वीकृत गरेको छ । यसबीचमा ५० करोड रुपैयाँ कर्जा प्रवाह भइसकेको छ । यस्तै पछिल्लो समयमा थप ३ वटा परियोजनामा २ अर्ब ८५ करोड रुपैयाँ कर्जा स्वीकृत भएको बैंकले जनाएको छ ।
बैंकले विदेशी साझेदार भित्र्याउने प्रक्रिया अघि बढाएको छ । बैंकले आधादर्जन बढी विदेशी बैंकसँग साझेदारीका लागि कुरा अघि बढाएको जनाएको छ । इन्फास्ट्रक्चरले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) एसियाली विकास बैंक (एडीबी), एसियन इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी), बेलायतको कमन वेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी), सिङ्गापुरको इन्फ्राको एसिया र नेदरल्याण्डको एफएमओसँग साझेदारीका लागि कुरा अघि बढाएको हो ।
इन्फास्ट्रक्चरले साझेदारीका लागि ती बैंकहरूलाई पत्राचारसमेत गरेको छ । न्यूनतम २० प्रतिशत सेयर विदेशी बैंक तथा वित्तीय संस्थालाई दिने योजना इन्फास्ट्रक्चरको छ ।
इन्फास्ट्रक्चरले सीजी सिमेन्टमा १ अर्ब ५० करोड, ४५ मेगावाटको मिडिल मेवामा १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ । यो आयोजना हिमालयन बैंकको अगुवाइमा ऋण लगानी हुनेछ ।
यस्तै आफ्नो अगुवाइमा बैंकले ३२ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनामा १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ ।