काठमाडौं । यो साताको कारोबारमा नेप्से परिसूचक ९१ दशमलव ४३ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ५५ दशमलव ४५ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम दिन १ हजार ९६४ दशमलव शून्य २ विन्दुमा झरेको हो । गत साता बजारले हालसम्मकै उच्च विन्दु २ हजार ७१ दशमलव शून्य २ कायम गरेको थियो । मंसिर १७ गते बुधवार बजारले पछिल्लो उच्च विन्दु कायम गरेको हो ।
गत साताको अन्तिम कारोबार दिन सामान्य करेक्सन सहित बन्द भएको बजार यो साताको पहिलो कारोबार दिन हालसम्मकै उच्च अंकले घटेको थियो । आइतवार बजार १२३ दशमलव ३४ अंकले घटेको हो । यो साताको पाँच ओटा कारोबार दिनमा बजार तीन दिन घटेको छ भने दुई दिन बढेको छ ।
साताको पहिलो कारोबार दिन भने नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षामा मार्जिन कर्जाको सीमा परिवर्तनको विषय पुनरावलोकन गर्ने विषयले प्रभावित बनेको थियो ।
राष्ट्र बैंकले बजारलाई प्रभावित गर्ने किसिमको कुनै निर्णय नभएको प्रष्ट पारेपछि सोमवार बजार ७२ दशमलव २८ अंकले बढेको थियो । त्यसपछिको दुई कार्यदिन मंगलवार ९ दशमलव शुन्य ४ अंक र बुधवार ३९ दशमलव ६० अंकले बजार घटेको छ ।
अन्तिम कारोबार दिन बिहीवार भने ८ दशमलव २७ अंकले बजार सुधारिएको छ ।विगतका वर्षहरुमा लगातार चार वर्षसम्म बजार घटेको अनुभव लिएका लगानीकर्ताहरु यतिवेला भने आत्तिएको देखिन्छ । बजारमा प्रयाप्त तरलता र लगानीमैत्री वातावरण भएपनि लगानीकर्ताहरुले ढुक्क भएर लगानी गर्न नसकेको अवस्था छ ।
करीब २ लाख लगानीकर्ताहरु अनलाईन कारोबार प्रणालीमा आवद्ध भइसकेका छन् । कोरोना महामारीका कारण अन्य क्षेत्रमा देखिएको प्रभावलाई केहि हदसम्म यो बीचमा शेयर बजारले सुधारेको देखिन्छ । अन्य व्यवसाय सुचारु नभएको अवस्थामा त्यस क्षेत्रका लगानीकर्ताहरुले यो क्षेत्रमा लगानी गरेकाले पनि बजारले गति लिएको जानकारहरुको भनाइ छ ।
विस्तारै कोभिडको असर सामान्य बन्दै जाँदा अन्य क्षेत्रका लगानीकर्ता नाफा बुक गर्दै वाहिरिएका कारण पनि पछिल्लो समय बजारमा उतारचढाब देखिएको हुनसक्ने उनिहरुको अनुमान छ ।
गत साताको तुलनामा यो साता कारोबार रकम साढे १२ अर्बभन्दा बढीले कम भएको छ । गत साता रू. ४० अर्ब ९८ करोड ८७ लाख बराबरको शेयर कारोबार भएकोमा यो साता रू. २८ अर्ब ४८ करोड ८५ लाख ४३ हजार बराबरको मात्र शेयर कारोबार भएको छ ।
ठूला कम्पनीहरुको शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो साता गत साताभन्दा १८ दशमलव २७ अंकले घटेको छ । गत साताको अन्तिम दिन ३९२ दशमलव २९ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता भने ३७४ दशमलव शून्य २ विन्दुमा झरेको हो ।
कारोबार रकमसँगै कारोबार कित्ता पनि यो साता कम भएको छ । गत साता १० करोड ११ लाख ६७ हजारभन्दा बढी कित्ता शेयर खरीदविक्री भएकोमा यो साता ६ करोड ६ लाख ८३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो ।
यो साता लगानीकर्ताहरुले रू. १ खर्ब २१ अर्ब ९८ करोड १० लाख गुमाएका छन् । कुल बजार पूँजीकरणमा उक्त रकम बराबरको कमि देखिएको हो । गत साता रू. २७ खर्ब ५५ अर्ब ६ ६ करोड ३० लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. २६ खर्ब ३३ अर्ब ८ करोड २० लाखमा झरेको हो । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीमध्य नेपाल दुरसञ्चार कम्पनी सर्वाधिक पूँजीकरण भएको कम्पनी हो ।
यो साताको अन्तिम दिन नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १८० कायम भएको छ । १५ करोड कित्ता शेयर सूचीकृत रहेको कम्पनीको कुल कित्ता शेयरको मूल्य रू. १ खर्ब ७७ अर्ब पुगेको छ । गत साताको तुलनामा यो साता कम्पनीको शेयरमूल्य भने घटेको छ ।
गत साताको अन्तिम दिन प्रतिकित्ता रू. १ हजार २८५ रहेको नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन प्रतिकित्ता रू. १०५ ले घटेको हो । यो साता नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताहरुले रू. १५ अर्ब ७५ करोड बराबरको सम्पत्ति गुमाएका छन् ।
त्यसैगरी, यो साता सबैभन्दा धेरै कमाउनेमा जलविद्युत् समूह अन्तर्गतका कम्पनीहरु रहेका छन् । सर्वाधिक बढ्ने १० कम्पनीमा ६ जलविद्युत् समूह अन्तर्गतका कम्पनी छन् । तथापि, सबैभन्दा धेरै कमाउनेमा भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । एक सातामा यस बैंकको सेयर मूल्य १४३ रुपैयाँ अर्थात् ४८.४७% ले बढेको छ ।
यस साता समग्रमा १० समूहको सूचक घटेको छ । जलविद्युत् समूहको सूचक मात्रै बढेको छ । जलविद्युत् समूहको सूचक भने २.४४% ले बढेर १७ सय ३१ को विन्दूमा आएको छ । यता, सबैभन्दा धेरै सूचक घट्नेमा ट्रेडिङ समूह परेको छ । यो समूहको सूचक ८.१९% ले घटेर २१ सय ५१ अंकमा अडिएको छ ।