बाँके। बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इन्डस्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत ६०० सय बढी मजदुर रोजगारविहीन हुन पुगेका छन्
‘अखिल नेपाल औद्योगिक मजदुर संघ’ को नाममा भएको आन्दोलनका कारण देखाउँदै व्यवस्थापनले उद्योग बन्द गरेपछि मजदुरको रोजगारी खोसिएको हो। रोजगारी गुमेपछि मजदुर अहिले मजदुर संगठनभन्दा पनि रोजगारीको सुनिश्चितता माग गर्दै नेपालगञ्जस्थित श्रम कार्यालयमा धाउन थालेका छन्।
उद्योगमा ट्रेड युनियन गठन भएपछि मजदुर दुई खेमामा विभाजित भएका छन्। कोहलपुर–१५ का मजदुर शोभाराम यादवले ट्रेड युनियनका नाममा भएको आन्दोलनले रोजगारी गुमेकोमा चिन्ता व्यक्त गरे।
कतिपय मजदुरले भने आफूहरूको सहमतिबिना उद्योगमा कार्यरत नै नरहेका व्यक्तिको फर्जी नाम राखेर ट्रेड युनियन गठन गरिएको भन्दै खारेजी माग गर्दै श्रम कार्यालयमा निवेदन दिएका छन्। खारेजी माग गर्ने मजदुरलाई ट्रेड युनियनका नेताहरूले डरत्रास र धम्की दिने गरेको यादवले बताए।
कोहलपुर–६ की मजदुर गीता थारुले अहिले आफूहरूलाई संगठनभन्दा पनि रोजगारीको खाँचो रहेको बताइन्। संगठनको आन्दोलनका कारण दुई महिनादेखि जागिर गुमेको उनको भनाइ छ।
उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले ट्रेड युनियनको नेतृत्व गर्ने अधिकांश सदस्यहरू उद्योगमा कार्यरत नै नरहेको दाबी गरे। उनले फर्जी नाम राखेर दिएको निवेदनलाई प्रमाणीकरण नै नगरी श्रम कार्यालय, नेपालगञ्जले प्रतिष्ठान स्तरको ट्रेड युनियन गठन गरेकामा आपत्ति जनाए।
श्रेष्ठका अनुसार उद्योग पूर्णरूपमा सञ्चालन हुन नपाउँदै मजदुर संगठनका नाममा अवरोध सिर्जना गरियो। पहिलेदेखि नै पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा दैनिक करिब पाँच लाख घाटा व्यहोर्दै आएको उद्योगलाई श्रम कार्यालयले वास्तविकता नबुझी खाता रोक्का गरिदिएपछि बन्द गर्न बाध्य हुनुपरेको उनको भनाइ छ।
‘हामी सरकारले तोकेको मापदण्ड पालना गर्दै मजदुरलाई पारिश्रमिक दिँदै आएका छौँ’, श्रेष्ठले भने, ‘घाटामा गएको उद्योगले अहिले तत्काल पारिश्रमिक वृद्धि र बोनस खुवाउन सक्ने अवस्थामा छैनौँ, तर परिस्थिति सुध्रिनासाथ सेवा सुविधा बढाउँदै लैजाने हाम्रो सोच छ।’
श्रेष्ठले उद्योग बन्द हुँदा दैनिक रु १० लाखभन्दा बढी घाटा भइरहेको भन्दै सहज रूपमा उद्योग सञ्चालन वातावरण बनाउन सम्बन्धित निकायसँग अनुरोध गरे।
श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका प्रमुख पिन्टुकुमार रजकले योयो प्लाइउडका मजदुर विभाजित भएको स्वीकारे। उनका अनुसार उचित पारिश्रमिक नपाएको भन्दै केही मजदुरद्वारा संगठनका नाममा परेको उजुरीमाथि कारबाही हुँदै जाँदा उद्योगको खाता रोक्का गरिएको थियो। अहिले मजदुर र उद्योग प्रतिनिधि दुवै पक्ष उद्योग सञ्चालनको वातावरण बनाइदिन माग गरिरहेका छन्।
ट्रेड युनियन दर्ताको विषयमा भने रजकले दर्ताका लागि आएको निवेदन र मजदुरको हस्ताक्षरको आधारमा संगठन दर्ता गरिएको बताए। मजदुरको हस्ताक्षर कीर्ते भएकोलगायतका विषयमा प्रमाणीकरणका लागि ३५ दिनभित्र श्रम अदालतमा जान सक्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ।
विगत पाँच वर्षदेखि सञ्चालित यो उद्योगले कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका खटिक समुदायको बसोबास रहेको स्थानीयलाई गाउँमै रोजगारी अवसर दिएको थियो। उद्योग बन्द भएपछि स्थानीयको मुख्य रोजगारीको स्रोत पनि गुमेको छ।–रासस