काठमाडौं । नेपालमा बन्दाबन्दी (लकडाउन) पछि सवारी खरिद गर्ने ह्वातै बढेसँगै सवारी पास तथा नयाँ सवारी ब्लूबुक पाउन सेवाग्राहीलाई सकस परेको छ ।
खासगरी दसैं–तिहार तथा छठ जस्ता ठूला चाडपर्वमा नयाँ दुईपाङ्ग्रे सवारी बिक्री अस्वाभाविक रूपमा बढ्यो । जसको प्रत्यक्ष असर अहिले सेवाग्राहीलाई परिरहेको छ । ब्लूबुक मात्रै होइन, नयाँ सवारी पास गर्न पनि उत्तिकै तनाब र झन्झटिलो बन्दै गएको सेवाग्राही बताउँछन् ।
पछिल्लो समय यातायात कार्यालयहरूमा सेवाग्राहीको चाप अत्यधिक बढेको छ । नयाँ गाडी तथा बाइक लिएको दुई महिनासम्म ब्लूबुक हात नपर्ने समस्या आएको सेवाग्राहीहरूले बताउँदै आएका छन् ।
डिल्लीबजार बस्दै आएका दिनेश केसीले डेढ महिना अगाडि पल्सर २२० बाइक लिए तर मोटरसाइकल लिएको महिना दिन बितिसक्दा पनि ब्लूबुक पाएका छैनन् । उनका अनुसार सोरुमलाई पटक–पटक फोन गर्दा भाका सार्दै पन्छिने गरेको छ । बाइक लिएको १५ दिनभित्र पास गरिसक्नुपर्ने बताउँदै आए पनि डेढ महिनासम्म कुनै प्रक्रिया अघि बढाएको छैन । केसी मात्रै होइनन्, हजारौं सेवाग्राही यस्ता समस्या झेल्दै आएका छन् ।
बजाज शोरुमका एक अधिकारीका अनुसार यातायात कार्यालयमा दसैं– तिहारमा मोटरसाइकल तथा गाडी किन्नेको चापले ब्लूबुक समयमै नआउने र सवारी पास गर्न पनि समय लाग्ने गरेको बताउँछन् । ‘अहिले सवारी पास र ब्लूबुकका लागि मारामार जस्तै छ,’ ती अधिकारीले भने, ‘सवारीधनीले कमिसन दिएको खण्डमा केही दिनमै सबै कागजात ल्याइदिन्छन् तर, स्वयम् आफंैलाई भने महिनौं कुर्नुपर्ने अवस्था छ ।’
अहिले पनि दसैं–तिहारमा रित्तिएका शोरुम बाइक तथा स्कुटरले भरिन सकेका छैनन् । व्यवसायीका अनुसार दसैं–तिहारमा माग उच्च भएका कारण चाडपर्व सकिएको महिना दिनसम्म पनि पुरानो लयमा फर्किन सकेको अवस्था छैन । अझै पनि शोरुममा सवारीसाधनको अभाव जस्तै छ । दसैं तथा तिहारमा दैनिक ५ देखि ६ सय वटासम्म मोटरसाइकल बिक्री भएको व्यवसायीहरूले बताउँदै आएका छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनकुमार हमालले कोरोना भाइरसका कारण यातायात कार्यालय पटक–पटक बन्द भएका र चाडपर्वको कारण सवारी बिक्री वितरण अत्यधिक भएको कारण यस्तो समस्या आएको हुन सक्ने बताउँछन् ।
‘अहिले पनि यातायात कार्यालय तथा विभागमा कार्यरत कतिपय कर्मचारी कोरोनासँग लडिरहनुभएको छ,’ उनले भने, ‘त्यस्तै चाडपर्व र महामारीले यातायाततर्फका काममा थप चाप परेकाले यो अवस्था आएको हो ।’ अहिले अवस्था सामान्य हुँदै गएकाले सेवाग्राहीका समस्यालाई समाधान गर्दै अघि बढ्ने उनको भनाइ छ । अझ सबैभन्दा बढी भीडभाड हुने सवारी लाइसेन्स आवेदन र ट्रायल परीक्षा अझै अनिश्चित जस्तै छ ।