काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ३५ वटा नयाँ सवारीसाधन लञ्च हुने भएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा नाइमाले उक्त जानकारी दिएको हो।
कार्यक्रममा बोल्दै नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले अवोलकनकर्ताका लागि टिकट शुल्क २०० रुपैयाँ निर्धारण गरिएको बताइन्। ‘मोबिलिटी एक्स्पोमा अवोलकनकर्ताका लागि टिकट शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ। उक्त शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिइनेछ,’ अध्यक्ष वैद्यले भनिन्, ‘विद्यार्थीले १०० रुपैयाँ तिरेर मोबिलिटी एक्स्पो अवलोकन गर्न सक्नेछन्। छुट पाउन विद्यार्थीले हाल आफू अध्ययनरत शैक्षिक संस्थाको परिचयपत्र देखाउनुपर्नेछ।’
टिकट बिक्रीबाट हुने आम्दानीको ५ प्रतिशत रिसर्च र फेलोसिपका लागि छुट्याइने उनले बताइन्।आयोजकका अनुसार नाइमा मोबिलिटी एक्स्पोभरी ८० हजार अवलोकनकर्ता आउने अनुमान गरिएकाे छ।
सोमबार आयोजित सम्मेलनमा कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै अटो एक्स्पो समिति प्रमुख शिरिष कुमार मुरारकाले यसपटकको एक्स्पोमा नयाँ प्रविधि र मोडल सार्वजनिक हुने बताए। विद्युतीय सवारीसाधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने छन्। प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक सवारीसाधन सार्वजनिक हुनेछन्।
नाइमाको मुख्य प्रायोजक संस्थाहरू-एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णुप्रसाद ज्ञवाली र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
एभरेष्ट बैंक र नेशनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेका प्रदर्शनीमा टिकेटिङ पार्टनरको रूपमा खल्ती बाइ आईएमई, बेभरेज पार्टनरमा माउन्टेन ड्यू, वृविङ पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्भेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिंक, हस्पिटालिटी पार्टनरमा सोल्टी होटल, मेडिकल पार्टनरमा फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनरमा एनसेल, र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन्।
प्रदर्शनीका आगन्तुकहरूलाई लक्षित गरी प्रायोजक कम्पनीहरूले विशेष सुविधाहरूको व्यवस्था गरेका छन्। राइड पार्टनर पठाओले भृकुटीमण्डप गन्तव्य भएका राइडहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ भने मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले प्रदर्शनी स्थलमा चौबीसै घण्टा एम्बुलेन्स व्यवस्थापनसहित आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा प्रदान गर्नेछ।
यस बाहेक संस्थाले प्रदर्शनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ। प्रतियोगितामा साउन २१ सम्म ‘नाइमा अटो एक्स्पो’ सम्बन्धी भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने सहभागीमध्ये उत्कृष्ट एक जनालाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने साउन २१ देखि २५ सम्म अपलोड गरिएका १० उत्कृष्ट भिडियोलाई प्रत्येकलाई १० हजार पुरस्कार प्रदान गरिनेछ।
प्रदर्शनीको टिकट खल्ती बाइ आईएमईमार्फत उपलब्ध छ। साथै, विक्रि भएका टिकटहरूको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रसँग सम्बन्धित छात्रवृत्ति तथा फेलोशिप प्रदान गर्न खर्च गरिनेछ।