काठमाडौं। कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच सम्झौता भएको छ। बैंकमा कार्यरत कर्मचारीहरूको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको हो।
सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेका हुन्। सम्झौता पश्चात् बैंकका कर्मचारीहरूले कर्मचारी सञ्चय कोषका अन्य सञ्चयकर्ता सरह कोषबाट प्रदान हुने सुविधाहरू उपयोग गर्न सक्नेछन्।
उक्त सम्झौता अनुसार चालू आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरूको कोषकट्टी रकम नियमित रूपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ। साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम एक अर्ब ५८ करोड ३० लाख १८ हजार २१७ रुपैयाँ २० पैसा समेत सञ्चय कोषले व्यवस्थापन गर्नेछ.
सिद्धार्थ बैंकमा हाल एक हजार ९५५ जना कर्मचारीहरू कार्यरत छन्। बैंकका कर्मचारीहरूले नियमानुसारको अवधि तथा प्रक्रिया पूरा गरी कोषबाट सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी र सरल सापटी लगायतका सुविधा उपयोग गर्न सक्नेछन्।
कोषले सञ्चयकर्तालाई कुनै व्ययभार नपर्ने गरी कोषको आफ्नै स्रोतबाट सञ्चयकर्ताहरूलाई विभिन्न सामाजिक सुरक्षा सुविधा समेत उपलब्ध गराउँदै आएको छ। जसअनुसार साधारण रोगको उपचारको लागि वार्षिक एक लाखसम्म र कडा रोगको लागि सेवा अवधिभरमा १० लाखसम्म शोधभर्ना प्रदान गर्ने गरिएको छ।
दुर्घटना क्षतिपूर्ति बापत २ लाखसम्म तथा काजकिरिया अनुदान ४० हजार निजका हकवालाले प्राप्त गर्ने गरेका छन्। कोषले सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत प्रति प्रसूती बढीमा दुई पटकसम्म ७ हजार ५ सयसमेत प्रदान गर्दै आएको छ।
कर्मचारी सञ्चय कोषमा हालसम्म ५९१ बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भएका कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीले जानकारी दिए।