काठमाडौं । गतसाता सुरुमा बढ्दो क्रममा देखिएको सेयर बजार पछिल्ला तीन दिन घटेर कारोबार भएको छ । बजारमा मौद्रिक नीतिको त्रैमासिक समीक्षाले असर गरेको भनेर चर्चा भइरहेका बेला राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दा भने फरक ढङ्गबाट ब्याख्या गरेको छ ।
मार्जिक कर्जा धितो सम्बन्धमा पुनरावलोकन गर्ने भने पनि सेयर बजार सूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) १२३.३४ अंकले ह्वात्तै घटेर १९३२ अंकमा झरेको थियो ।
तर, त्यसबीचमा लगानीकर्ता समूहले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डका प्रतिनिधिलाई छुट्टाछुट्टै भेटेर बजारका समस्या अवगत गराएका थिए । लगानीकर्ताले बोर्डलाई ब्रोकर कमिसन घटाउन दबाब दिए भने केन्द्रीय बैंकलाई धितो कर्जा पुनरावलोकन नगर्न दबाब दिए । जसले गर्दा भोलिपल्टै बजार ७२ अंकले बढेर २००० माथि चढ्यो । त्यसपछि बजारमा नियमित जस्तो घट्ने र बढ्ने खेल चलिनै रह्यो ।
गत साताको पहिलो र दोस्रो दिन बजारमा उत्साहजनक वृद्धि देखियो । तर, राष्ट्र बैंकले सेयर धितो कर्जामा पुनरावलोकन गरेको निर्देशन दिएसँगै बजार भने ओरोलो लाग्यो । यद्यपि, राष्ट्रबैंकको निर्देशनले राम्रा कम्पनीहरुमा कुनै असर गर्ने देख्दिैन ।
किनभने, राष्ट्र बैंकले पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका, व्यावसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष नभएका, तीन वर्षदेखि साधारणसभा नगरेका र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका कम्पनीहरुई सेयर धितोमा कर्जा दिन बन्देज लगाएको निर्देशन दिएको हो । यो भनेको संस्थागत सुशासन राम्रो भएका र नियमित कारोबार भइरहेका कम्पनीहरुलाई धितो राखेर कर्जा दिन कुनै अप्ठयारो छैन ।
यो प्रावधानका कारण केही कम्पनीको सेयर धितो राखेर ऋण लिन पाइँदैन । तर, यही निर्देशनको सेरोफेरोमा रहेर बजारमा सेयर मूल्य घटाउन र बढाउन लगानीकर्ताहरु लागिरहेका छन् । विशेषगरी सामाजिक सञ्जाल र केही अनलाईन सञ्चार माध्यममार्फत हल्ला फिजाउँदै मूल्य घटाउन भ्रम सिर्जना गरिरहेका छन् । त्यसैको प्रभाव सेयर बजारमा पनि परेको छ । यसले लगानीकर्ताहरुबीचमा हेर्न लायक रौनकता थपिएको छ ।
अहिले घटेको बजार सूचकलाई सामान्य रुपमा लिनुपर्छ । सामान्य उतारचढाब हुने पुँजीबजारको विशेषता हो र अल्पकालीन लगानीकर्ताले त्यही उतारचढाबबाट नाफा बुक गरेर कमाउने हो ।
बजारको अवस्था हेर्दा घटिरहने प्रकृतिको देख्दिैन । यो साता बजारले नयाँ उचाईको यात्रा लिन सक्ने सम्भावना छ । मूल्य आम्दानी अनुपात कम भएका र प्रतिसेयर आम्दानी बढी भएका केही कम्पनीहरुको सेयर मूल्य भने अझै कम छ ।
सामान्यतयः मूल्य आम्दानी अनुपात १५ भन्दा कम भएका कम्पनीलाई राम्रो मानिन्छ । तथापि, लगानीकर्ताहरुले सूचक घटेको वा बढेको नहेरी आफूले खरिद गर्ने कम्पनीको वास्तविकता अध्ययन गरेर र तत्कालीन परिस्थितिलाई मूल्याङ्कन गरी लगानी गरेमा अल्पकालीन बजारबाट पनि मनग्य नाफा आर्जन गर्न सकिन्छ ।
राष्ट्र बैंकको कदमबाट बजारलाई सकारात्मक प्रभाव पार्छ भने अर्थमन्त्री विष्णु पौडेलको प्रयासले पनि बजारलाई उकालोतर्फ लैजाने देखिन्छ । अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्डलाई तत्काल कमिसन घटाउन निर्देशन दिएका छन् । लगानीकर्ताले हाल कायम रहेको ब्रोकर कमिसन अत्यधिक भएको र त्यसलाई घटाउन बोर्डमाथि दबाब दिँदै आएका थिए ।