काठमाडौं । घट्दो ट्रेण्ड समातेको सेयर बजार राजनीतिक घटनाक्रमसँगै थप शिथिल बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेसँगै सेयर बजार प्रभावित भएको छ ।
स्थिर सरकारको परिकल्पनाले लगानीकर्ताको आत्मविश्वास जागृत हुने अवसर सिर्जना होला भन्ने अपेक्षा गरिएका बेला फेरि राजनीतिक अस्थिरता उब्जिने भयमा लगानीकर्ताको मनोबल खच्किँदा सेयर बजार परिसूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) उच्च अंकले घटेको छ ।
सेयर बजारमा सबैभन्दा बढी प्रभावित पर्ने अवयवहरुमध्ये राजनीति एउटा मुख्य कारण हो । त्यसैको सिकार आइतबारको सेयर बजार भएको छ । यद्यपि, केही दिनदेखि बढिरहेको राजनीति सरगर्मीले बजार ओरालो लाग्दै आएको थियो । यसअघि लगातार तीनदिन बजार घटेको थियो र आइतबार उच्च अंकले गिरावट आएको छ ।
त्यति हुँदाहुँदै पनि राजनीति बाहेकका सूचीकृत कम्पनीका सूचकहरु भने सकारात्मक नै छन् । यसले बजार धेरै नै प्रभावित हुने सम्भावना भने छैन् । तर, लगानीकर्ताहरुले मौकाको फाइदा उठाउँदै अझ अस्थिर बनाउन भूमिका भने खेल्छन् । बदलिँदो राजनीति अस्त्र र केही लगानीकर्ताहरुको चलखेलले बजार प्रभावित हुने सम्भावनालाई नर्कान भने सकिन्न ।
अहिले राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति घोषणा गरिसकेको अवस्था छ र अर्को निर्वाचन नसकिएसम्म यही मन्त्रिपरिषद्ले काम गर्छ । मुलुक चल्ने एउटा पद्धति हुन्छ । र, त्यस्तै पद्धति सेयर बजारको पनि छ। कम्पनीहरुको नाफामा खासै गिरावट छैन । केही समयदेखि कोरोना भाइरसको असर देखिए पनि आत्तिनुपर्ने गरी सूचीकृत कम्पनीहरुको व्यवसाय र नाफामा असर परेको छैन ।
यस्तो बेलामा कम्पनीहरुले राम्रो प्रगति गरिरहेकै छन् । कम्पनीले गरेको नाफाको हिस्सेदार हुने भनेको लगानीकर्ता नै हो । त्यसैले राजनीतिक परिवर्तन भयो भनेर आत्तिनुपर्ने छैन् । किनभने भोलि निर्वाचनबाट आउने दलहरु भनेका अहिले नै सत्तामा रहेका र विपक्षमा भएका दल नै हुन् । उनीहरु कुनै न कुनै रुपले पुँजीबजार प्रतिसकारात्मक नै छन् ।
त्यति मात्रै होइन्, वैकल्पिक शक्तिका रुपमा व्याख्या गरिरहेका राजनीतिक शक्ति पनि पुँजीबजार प्रतिनकारात्मक छैनन् । उत्ता नियामक निकायहरु पूर्णकालीन अवस्थामा छन् । तत्काल नियामकको अभावमा सूचीकृत कम्पनीहरु डगमगाउने हुन कि भन्ने अवस्था छैन ।
केही दिन अघि मात्रै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिसन घटाउन नियामक निकाय धितोपत्र बोर्डलाई निर्देशन दिइसकेका छन् । जुन बजारका लागि सकारात्मक पक्ष हो । र बोर्डले पनि केही दिनमा ब्रोकर कमिसन घटाउने भनिसकेको छ ।
ब्रोकर कमिसनमा ब्रोकरको मात्रै कमिसन घट्ने कि नियामकहरुले लिँदै आएको कमिसन पनि घटाउने भन्ने बहस जारी छ । यस्तो बेलामा सेयर बजारमा लगानी गर्दा आधारभूत पक्षहरुलाई हेरेर र नआत्तिकन कारोबार गर्दा बजारबाट गुमाउनुपर्ने अवस्था आउँदैन ।
फेरि पनि बजारले घट्दो ट्रेण्ड समाएकाले पुरानो उच्च अंक १८८१ तोडेर अघि जाने सम्भावना भने कमै देखिन्छ । यद्यपि, आइतबार दोस्रो पटक उच्च अंक ९६.८८ अंकले घटेर १९३५.६३ अंकमा पुगेको छ ।
यसअघि मसिंर २१ गते १२३.३४ अंकले घटेको थियो । दोस्रो उच्च कारोबार ९ अर्ब ४ करोड ७९ लाख रुपैयाँ बराबर भएको छ । यसअघि नेप्सेमा ९ अर्ब २२ करोड रुपैयाँबराबर कारोबार भएको रेकर्ड छ । उच्च रकमको कारोबार भएकाले पनि बजारलाई सपोर्ट गर्ने देखिन्छ । कम्पनीहरुको लाभांश घोषणा गर्नेक्रम जारी छ । यस्तो बेलामा सचेततापूर्वक र बिबेक नगुमाई लगानीकर्ताले लगानी गर्नुपर्ने देखिन्छ ।
याे पनि पढ्नुस्
सत्तारुढ राजनीति तरङ्गित भएपछि सेयर बजारले देखायो रातो झण्डा, २१ सय पुगेर फर्कियो बजार