काठमाडौं । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्सले बुधबार संयुक्त विज्ञप्ति जारी गरी निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको स्पष्ट पारेको छन् ।
प्रतिनिधि संस्थाहरुले निजी क्षेत्रले विगतमा पनि राजनीतिक स्थिरताका लागि बारम्बार सुझाव दिंदै आएको स्पष्ट पारेको छ । राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने नयाँ व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न नहुने स्पष्ट पारेको छ ।
विश्वव्याधी कोभिड १९ का कारण यसै त मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित भएको जानकारी गराएको छ ।
राजनीतिक स्थिरताको आर्थिक विकाससंग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले थप जटिलता सृजना गर्नेमा निजी क्षेत्र ससंकित एवं चिन्तित भएको छ ।
भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्ने प्रतिनिधि संस्थाले सचेत समेत गराएका छन् ।
बिषम परिस्थितिमा सम्पुर्ण राजनीतिक दलहरू समक्ष सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गर्दछ ।