काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बहुप्रतिक्षित ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्य प्रक्रिया, २०८२’ पारित गरेको छ। धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ जारी गरेको १५ बितिसकेपछि नेप्सेले कार्य प्रक्रिया जारी गरेको हो।
बोर्डले गत माघ २७ गते निर्देशका जारी गरेर फागुन १ गतेदेखि कार्यान्वयनमा जाने उल्लेख गरेको थियो। तर, धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)हरूले नेप्सेले कार्यविधि नबनाएको भन्दै ग्राहकलाई उक्त सुविधाबाट बञ्चित गर्दै आएका छन्। अब नेप्सेको कार्यविधिलाई बहाना बनाएर रोकिएको यो सुविधा अब कार्यान्वयनको दिशामा अघि बढेको हो। अब ब्रोकरहरुले आन्तरिक कार्यविधि बनाएर ग्राहकलाई मार्जिन कारोबार सुविधा दिनुपर्ने हुन्छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेप्सेले आफ्नोतर्फबाट गर्नुपर्ने काम सम्पन्न गरिसकेको जानकारी दिँदै यो कार्यविधि केवल नेप्सेको आन्तरिक व्यवस्थापन र कर्मचारीका लागि बनाइएको बताए।
‘निर्देशिका अनुसार नेप्सेले मार्जिन कारोबारको कार्य प्रक्रिया पास गरिसकेका छ। यो हाम्रो आन्तरिक काम सहज बनाउन ल्याइएको प्रक्रिया हो,’ नेप्से प्रवक्ता पराजुली भन्छन्, ‘ब्रोकरले आफ्नो कार्यविधि बनाउन नेप्सेको मुख ताक्नु पर्दैन थियो। कार्य प्रक्रिया हाम्रो लागि हो, उनीहरूले आफ्नो कार्यविधि यसअघि नै पनि निर्देशिकाअनुसार बनाएर मार्जिन कारोबार शुरु गर्दा हुन्थ्यो।’
पराजुलीका अनुसार ब्रोकरले धितोपत्र बोर्डको मूल निर्देशिकाकै आधारमा आफ्ना ग्राहकसँग सम्झौता गर्ने र आन्तरिक तयारी गर्ने अधिकार पहिलेदेखि थियो। नेप्से र ब्रोकरबीच भएको छलफलमा पनि दुवै पक्षले आ-आफ्नो कार्यविधि छुट्टाछुट्टै बनाउने सहमति भएको उनले जानकारी गराए।
नेप्सेले पारित गरेको यो कार्य प्रक्रियामा मुख्यतया रिपोर्टिङ फर्म्याट र प्राविधिक पक्षहरू समेटिएका छन्। अब ब्रोकरले आफ्नो सफ्टवेयर (टिएमएस) र आन्तरिक प्रणालीलाई यसअनुसार मिलाएर सेवा सुरु गर्नुपर्ने छ।
बजारमा व्याप्त अन्यौल चिर्न नेप्सेले यो कार्य प्रक्रियालाई छिट्टै वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ। यो निर्णयसँगै अब मार्जिन कारोबार सुविधा कहिलेदेखि सुरु गर्ने भन्ने जिम्मेवारी र सक्रियता पूर्ण रूपमा ब्रोकरहरूको काँधमा पुगेको छ।