काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारका मुख्य सचिव, सचिवहरू र उच्चपदस्थ अधिकारीसँग बुधबार काठमाडौंमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
महासंघका नवनिर्वाचित पदाधिकारी, समिति सभापतिहरू र नेपाल सरकारका उच्च पदाधिकारीहरूबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले महासंघले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको प्रारम्भमा महासंघका अध्यक्ष शेखर गोल्छाले उपस्थिति मुख्य सचिवसहित सचिवहरूको स्वागत गर्दै सरकार निजी क्षेत्रबीचको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ पार्दै लैजानुपर्नेमा जोड दिए । अध्यक्ष गोल्छाले सो अवसरमा महासंघको नवनिर्वाचित टिमको परिचय पनि गराएका थिए ।
अध्यक्ष गोल्छाले भने, ‘अब चालू आर्थिक वर्षको मौद्रिक नीतिमाफर्त घोषणा भएको साना तथा मझौला उद्यमी लक्षित पुनर्कर्जा प्रवाह पनि सुरु भएको छ । व्यवसाय निरन्तरता कर्जा पनि सुरु हुने क्रममा छ । यसले साना मझौला उद्यमीलाई राहत पुग्नेछ । तर, पर्यटन लगायतका केहि अति प्रभावित क्षेत्रमा समस्या कम भएको छैन ।’
सो अवसरमा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले निजी क्षेत्रको मुलुकभित्र उद्योग व्यवसायको विस्तारसहित आर्थिक विकासमा सहयोग गर्न सरकारको कर्मचारी प्रशासनबाट सदैव सहयोग र सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
मुख्य सचिव वैरागीले मुलुकको व्यापार घाटा कम गर्नेतर्फ सरकार निजी क्षेत्र निरन्तर अघि बढेको र यसमा केही सफलता पनि प्राप्त भएको बताउँदै हाम्रा तुलनात्मक लाभका क्षेत्रहरू मार्फत व्यापार घाटा कम गर्ने तर्फ हाम्रो संंयुक्त प्रयास केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।
‘के गर्दा वाह्य लगानी, आन्तरिक लगानी बढाउन सकिन्छ, पुँजी, सीप आकर्षण गर्न सकिन्छ र समग्रमा निजी क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ त्यसमा सरकार तपाईं निजी क्षेत्रलाई सहयोग गर्न तयार छ’ मुख्य सचिवले भने, ‘मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ ।’
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र्रप्रसाद ढकालले निजी क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकार र सरकारका कर्मचारीबीच समन्वनय गर्दे अघि बढ्नुपर्ने बताए ।