काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत कम्पनीहरुले अहिले धमाधम वार्षिक साधारणसभा (एजीएम) गरेर सेयरधनीहरुलाई लाभांश वितरण गर्न थालेका छन् ।
नेप्सेमा सेयर कारोबार हुने अधिकांश कम्पनीहरुले पुसभित्र साधारणसभा गर्दैछन् । ती कम्पनीहरुले सेयरधनीहरुलाई पुँजी बढाउन नगद लाभांशभन्दा बढी बोनस सेयर दिने घोषणा गरेका छन् ।
सार्वजनिक कम्पनीहरुले आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान छ । तर, अझै पनि नेप्सेमा सूचीकृत कतिपय कम्पनीहरुले पुसमा साधारणसभा नगर्ने भएका छन् ।
पुसभित्र ६१ वटा कम्पनीले वार्षिक साधारणसभाको घोषणा गरेका छन् । तीमध्ये अधिकांशले पुस २८ र २९ गते साधारणसभाको मिति तोकिएका छन् । पुस २९ गते मात्रै २९ वटा कम्पनीहरुले साधारणसभाका लागि सूचना प्रकाशित गरिसकेका छन् ।
सूचीकृत कम्पनीहरुले सेयरधनीहरुलाई वार्षिक साधारणसभाको जानकारी २१ दिन अगावै दिनुपर्ने व्यवस्था छ । पुस २९ गतेसम्म साधारणसभा गर्न ८ गतेसम्म मात्रै सूचना जारी गर्नुपर्छ ।
पुसभित्र १६ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक,१४ वटा लघुवित्त, ८ वटा फाइनान्स कम्पनी, १३ वटा जलविद्युत्, ३ वटा उत्पादनमूलक होटल एउटा र अन्य समूहका ३ वटा कम्पनीहरुले एजीएम गर्ने भएका छन् ।
१६ वटा वाणिज्य बैंकले पुसभित्र साधारणसभा गर्ने
राष्ट्रिय वाणिज्य बैंक बाहेक नेप्सेमा सूचीकृत २६ वटा वाणिज्य बैंकमध्ये ८ बैंकले पुस २९ गते साधारणसभा गर्ने भएका छन् । नबिल बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक, कृषि विकास बैंकले पुुस २९ गते साधारणसभा बोलाएका छन् । यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंक र सनराइज बैंकले पुस २४ मा, प्रभु बैंक र नेपाल बंगलादेश बैंकले पुस २६ गते, एभरेष्ट बैंक र हिमालयन बैंकले पुस २७ गते, नेपाल एसबीआई बैंक र हिमालयन बैंकले पुस २८ गते साधारणसभाको मिति तोकेका छन् ।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी लाभांश नबिल बैंकले घोषणा गरेको छ । नबिलले सेयरधनीहरुलाई ३५ प्रतिशत बढी लाभांश दिने भएको छ ।
यसैगरी विकास बैंकहरुमध्ये ४ वटाले यो महिनाभित्र साधारणसभा गर्ने भएका छन् । मुक्तिनाथ विकास बैंकले पुस २५, लुम्बिनी विकास बैंकले २६, मितेरी डेभलपमेन्ट बैंकले २७ र कामना सेवा विकास बैंकले २९ गते साधारणसभा बोलाएका छन् । अधिकांश विकास बैंकले हालसम्म साधारणसभाको मिति तय गरेका छैनन् ।
हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एआईडीसीएल), नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड र सोल्टी होटल्स लिमिटेडको एजीएम पुस २९ गते तय भएको छ । यी दुवै कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश नदिने घोषणा गरेका छन् ।
१४ लघुवित्तको साधारणसभा हुँदै
नेप्सेमा सूचीकृत ५२ लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म १४ वटाले मात्र पुसभित्र साधारणसभा गर्ने भएका छन् । यीमध्ये ७ वटाको साधारणसभा पुस २९ गते हुने भएको छ । छिमेक, ग्लोबल आईएमई, गुराँस, साधाना विजय र लक्ष्मी लुघवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते साधारणसभा बोलाएका छन् । आशा लघुवित्तले पुस २५, मेरो माइक्रोफाइनान्सले २८, एनएमबी लघुवित्तले २७, आरएमडीसीले २४, समताले १४, साना किसान र वोमी लघुवित्त वित्तीय संस्थाले २८ गते साधारणसभा बोलाएका छन् ।
हालसम्म नेप्सेमा सूचीकृत ७ फाइनान्स कम्पनीहरुले पुस २९ गते साधारणसभा बोलाएका छन् । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले पुस २८ गते साधारणसभा बोलाएको छ । आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, पोखरा फाइनान्स, गुडविल फाइनान्स, प्रोगेसिभ फाइनान्स र युनाइटेड फाइनान्सले पुस २९ गत साधारणसभा बोलाएका छन् ।
नेप्सेमा सूचीकृत ३७ जलविद्युत कम्पनीहरुमध्ये हालसम्म १३ वटाले पुस महिनामा साधारणसभा बोलाएका छन । यस अवधिमा कतिपय कम्पनीहरुले साधारणसभा सम्पन्न गरिसकेका छन् । अझै धेरैको साधारणसभाको मिति तय हुन नै बाँकी छ ।
पुसभित्र एजीएम गर्नेमा वरुण, चिलिमे, छ्यान्दी, सानिमा, सिनर्जी, सिनर्जी, बुटवल, हिमालयन पावर, माउन्टेन ङादी, रसुवागढी, साञ्जेन र रैराङ हाइड्रोपावर कम्पनी लिमिटेड छन् ।
यसैगरी उत्पादनमूलकहरुमा हिमालयन डिस्टिलरी लिमिटेडको एजीएम पुस २९ मा हुने भएको छ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराईले पुस २२ मा एजीएम डाकेका छन् । यी दुवै कम्पनीले लाभांश नदिने घोषणा गरेका छन् ।