काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आजदेखि सेयर बजारमा उच्च उतारचढवालाई नियन्त्रण गर्न नयाँ सर्किट ब्रेकरको नियम कार्यान्वयनमा ल्याएको छ। नेप्सेले वैशाख ७ गतेबाट नयाँ सर्किट ब्रेकरको नियम लागू गरेको हो। यसअघिका ३ वटा सर्किट ब्रेकर व्यवस्थालाई घटाएर २ वटा मात्र गरिनेछ।
नेप्सेले कारोबार विनियमावलीमा गरिएको चौथो संशोधन बोर्डले स्वीकृत गरेसँगै नयाँ नियम लागू गर्न लागिएको हो। अब सेयर बजारको उच्च उतारचढाव नियन्त्रण गर्न कारोबारको पहिलो २ घन्टाभित्र बजार ५ प्रतिशत घटबढ भए पहिलो सर्किट ब्रेक र फेरि कुनै पनि समयमा ८ प्रतिशतले बजार घटबढ दोस्रो सर्किट ब्रेक लाग्नेछ। अब पहिलो ५ प्रतिशतको सर्किट ब्रेकपछि १५ मिनेटका लागि कारोबार स्थगित गरिनेछ।
दोस्रो ८ प्रतिशतको ब्रेकपछि बाँकी समयको कारोबार स्थगित गरिनेछ। यसअघि बजारको उच्च उतारचढाव नियन्त्रण गर्न कारोबारको पहिलो घन्टामा ४ प्रतिशतले घटबढ, त्यसपछि ५ प्रतिशतले घटबढमा र ६ प्रतिशतमा घटबढ सर्किट ब्रेक लगाउने व्यवस्था छ।
४ प्रतिशतमा सर्किट ब्रेकर लगाएर २० मिनेट कारोबार स्थगित गर्ने, त्यसपछि ५ प्रतिशतमा सर्किट ब्रेकर लगाएर ४० मिनेट कारोबार स्थगित गर्ने र अनि फेरि ६ प्रतिशतमा सर्किट ब्रेकर लगाएर बाँकी समयको कारोबार स्थगित गर्ने प्रावधान रहेको थियो।
यसैगरी नेप्सेले हालको प्रि–ओपन सेसनमा सेयर मूल्य घटबढको अधिकतम सीमा वृद्धि गरेर ५ प्रतिशत र नियमितसत्रमा १५ प्रतिशतसम्मको व्यवस्था लागू गरिनेछ। यसअघि प्रि–ओपन सेसनमा शेयरमूल्य घटबढको अधिकतम सीमा २ प्रतिशत र नियमितसत्रमा १० प्रतिशतसम्मको व्यवस्था थियो।
आफ्टर मार्केट अर्डरको सुविधा भने ब्रोकरमा भर पर्नेछ। ब्रोकरको टीएमएसमा यो सुविधा थप गरिएपछि लगानीकर्ताले प्रयोग गर्न पाउनेछन्।
संशोधित व्यवस्थाअनुसार अब आफ्टर मार्केट पनि शेयर खरिद–बिक्रीका लागि अर्डर प्लेसमेन्ट गर्न सकिन्छ। विदेशमा रहेका नेपालीले आफू रहेको देशबाट सेयर कारोबार गर्न असहज भएको गुनासो प्राप्त भएपछि आफ्टर मार्केट अर्डर प्लेसमेन्टको सुविधा संशोधित व्यवस्थामार्फत थपिएको हो।