काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर खरीदबिक्री वापत लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने कमिशन घटाएको छ । बोर्डले शुक्रवार अधिकतम ०.४० प्रतिशत हुने गरी कमिशन घटाएको हो । यस अघि ब्रोकर कमिशन अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो ।
पछिल्लो समय अनलाईन कारोबारको संख्या बढेको भन्दै लगानीकर्ताहरुले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए । बोर्डको यो निर्णय आगामी आइतवारदेखिको शेयर कारोबारमा लागू हुनेछ ।
धितोपत्र कारोबार प्रणाली तथा सेवामा हुँदै गएको सुधार तथा बजार विस्तारसँगै कारोबार लागतलाई प्रतिस्पर्धी बनाउने अन्तरर्राष्ट्रिय अभ्यास तथा अनलाईनमार्फत कारोबार गर्ने लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने भएकाले ब्रोकर कमिशन घटाउन आवश्यक भएको बोर्डले स्पष्ट पारेको छ ।
बोर्डको यो निर्णयसँगै अब लगानीकर्ताहरुले रू.५० हजारसम्मको शेयर कारोबारमा शून्य दशमलव ४० प्रतिशत, रू. ५० हजारभन्दा माथि रू. ५ लाखसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, रू. ५ लाखभन्दा माथि रू. २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत, रू. २० लाखभन्दा माथि रू. १ करोडसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र रू. १ करोडभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत ब्रोकर कमिशन मात्र तिर्नुपर्ने छ ।
बोर्डले शून्य दशमलव २७ प्रतिशतदेखि शून्य दशमलव ४० प्रतिशत ब्रोकर कमिशन निर्धारण गरेको हो । यसअघि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार गर्दा शून्य दशमलव ४० प्रतिशतदेखि शून्य दशमलव ६० प्रतिशतसम्म कमिसन तिर्नुपर्ने व्यवस्था थियो । लगानीकर्ताहरुले रू. ५० हजारसम्मको शेयर खरीदविक्री गर्दा शून्य दशमलव ६० प्रतिशत र रू. ५० हजारदेखि रू. ५ लाख सम्मको कारोबारमा शून्य दशमलव ५५ प्रतिशत कमिसन तिर्नुपर्दथ्यो ।

त्यस्तै रू. ५ लाखदेखि रू. २० लाखासम्मको कारोबारमा शून्य दशमलव ५० प्रतिशत, रू. २० लाखदेखि रू. १ करोडसम्मको कारोबारमा शून्य दशमलव ४५ प्रतिशत र सोभन्दा माथीको कारोबारमा शून्य दशमलव ४० प्रतिशत कमिशन तिर्नुपर्ने व्यवस्था थियो ।
पछिल्लोसमय धितोपत्र बजारमा ८५ प्रतिशतभन्दा बढी कारोबार अनलाईन मार्फत हुने गरेको तथा दैनिक कारोबारमा वृद्धि हुँदै गएकाले ब्रोकर कमिसन घटाउन आवश्यक रहेको बोर्डको भनाइ छ ।
बोर्डले ऋणपत्र तथा सामूहिक लगानीकोषको इकाई विक्रीको ब्रोकर कमिशन दर पनि घटाएको छ । नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा संस्थागत ऋणपत्रको खरीदविक्री गर्दा रू. ५ लाखसम्ममा शून्य दशमलव १० प्रतिशत, रू. ५ लाखभन्दा माथि रू. ५० लाखसम्ममा शून्य दशमलव शून्य ५ प्रतिशत र रू. ५० लाखभन्दा माथिको जतिसुकै कारोबारमा शून्य दशमलव शून्य २ प्रतिशत ब्रोकर कमिशन बोर्डले निर्धारण गरेको हो ।
यस अघि रू. ५ लाखसम्मको ऋणपत्र काराबोरमा शून्य दशमलव २० प्रतिशत, रू. ५ लाखभन्दा माथि रू. ५० लाखसम्मको कारोबारमा शून्य दशमलव १० प्रतिशत र रू. ५० करोडभन्दा माथिको जतिसुकै कारोबारमा शून्य दशमलव शून्य ५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था थियो ।
त्यस्तै सामूहिक लगानी कोषको रू. ५ लाखसम्मको इकाई खरीदविक्रीमा शून्य दशमलव १५ प्रीतशत, रू. ५ लाखदेखि रू. ५० लाखसम्मको कारोबारमा शून्य दशमलव १२ प्रतिशत र रू. ५० लाखभन्दा बढीकोमा शून्य दशमलव १० प्रतिशत ब्रोकर कमिसन तय भएको हो ।
यसअघिको व्यवस्थामा रू. ५ लाखसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत, रू. ५ लाखदेखि रू. ५० लाखसम्मकोमा शून्य दशमलव २५ प्रतिशत र रू. ५० लाखमाथीको जतिसुकै कारोबारमा शून्य दशमलव २० प्रतिशत कमिसन रहेको थियो ।
बोर्डले धितोपत्र दलाल व्यवसायीले ग्राहकबाट रू. १० भन्दा घटी नहुने गरी कमिशन घटाएको उल्लेख गरेको छ । उक्त कमिशनबाट ब्रोकरहरुले शून्य दशमलव ६ प्रतिशत बोर्डलाई र शून्य दशमलव शून्य २ प्रतिशत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई बुझाउनुपर्ने पनि बोर्डले प्रष्ट पारेको छ ।
बोर्डले साना लगानीकर्ताहरुलाई कारोबार सेवा बापत लिंदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्रको कारोबार शुल्कमा ५० प्रतिशत र संगठित संस्थाहरुको शेयर खरीदविक्री कारोबारमा लिंदै आएको शुल्कमा ३३ प्रतिशत कम हुने गरी ब्रोकर कमिशन घटाएको बताएको छ ।
कमिशन घटाउनु पर्ने मागका सम्वन्धमा हालैमात्र लगानीकर्ता संघका पदाधिकारीहरुले अर्थमन्त्रीको समेत ध्यानाकर्षण गराएका थिए । अन्ततः लगानीकर्ताहरुको माग पुरा भएको छ ।