काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले आइतबार राष्ट्रपति भवन शीतलनिवासमा औपचारिक भेटवार्ता गरेका छन् । सो अवसरमा राष्ट्रपतिले महासंघको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाईसहित कार्यकालको सफलताका लागि शुभकामना दिइन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहितको पदाधिकारी प्रतिनिधिमण्डलले राष्ट्रपति समक्ष महासंघको नयां नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि महासंघ विशेष लक्ष्यसहितको भिजन पेपर तयारीमा लागेको जानकारी गरायो ।
उक्त अवसरमा अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक भएकोमा पनि जोड दिएका थिए ।
साना मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वत चल्न सक्ने हुंदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको बताए । साथै उनले महासंघले ल्याउने भिजन पेपरमा एसएमइजको पुनरूत्थानका लागि विशेष सुझाव समेटिने जानकारी गराए ।
लाखौं युवाहरू वेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको सन्दर्भमा महासंघको भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सृजना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको स्पष्ट पार्दै अध्यक्ष गोल्छाले महासंघले विज्ञहरू समेतको सहयोगमा आम सरोकारवाला पक्षहरूसंग छलफल गरी उक्त पेपर सार्वजनिक गरिने र सरकारबाट स्वीकृति लिएर सहकार्यमा लगिने योजना रहेको राष्ट्रपति समक्ष जानकारी गराए ।
अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम हुने प्रक्षेपण भैरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए ।
भेटवार्तामा महासंघका पदाधिकारीहरूले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो कृषि, पर्यटन, पूर्वाधार निर्माण, ऊर्जालगायतका क्षेत्रसंग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने, मुलुकभित्र उपलव्ध प्राकृतिक स्रोत साधनको समुचित विकासमार्फत आर्थिक विकास, रोजगारी सृजनामा सरकारको ध्यान जानुपर्ने, संस्थागत सोच अनुरुप विकासका कार्यक्रम अगाडि बढाइनुपर्ने, लगानी सुरक्षा र नीतिगत स्थायित्व लगायतका विषयमा जोड दिए ।
महासंघका पदाधिकारीहरूबाट व्यक्त धारणापश्चात् राष्ट्रपतिले महासंघको वर्तमान युवा नेतृत्वलाई उद्योग व्यवसायको विकास मार्फत रोजगारी सृजना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिइन् । हामीसंग पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि परेका छौं, प्राकृतिक स्रोत साधनमा हामी धनी छौं, बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन, अहिले पनि हामी अरुकै भर पर्नुपर्ने परिस्थिति छ राष्ट्रपतिले भनिन्–रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ यसमा तपाईंहरू गम्भीर भएर लाग्नुहोस् ।
चुलिंदो व्यापार घाटाप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गरिन् । हर कुरामा हामी वाह्य देशसंग निर्भर रहनु पर्ने अवस्था छ र यो अवस्थालाई कसरी ब्रेक गरी आफना लागि आवश्यक वस्तु आफै उत्पादन गर्न सक्छौं त्यसमा सिंगो मुलुकनै गम्भीर हुन जरूरी छ । स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र स्वदेशी लगानी आकर्षण हुन सकेमामात्र वाह्य लगानीसमेत आकर्षित हुने हुंदा कृषि, ऊर्जा, पर्यटन क्षेत्रको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार निजी क्षेत्र सहकार्यमा राष्ट्रपतिले जोड दिइन् ।