काठमाडौं । घटेको ब्रोकर कमिसनमाथि धितोपत्र दलाल व्यवसायी (ब्रोकर) असन्तुष्टि बनेसँगै सेयर कारोबारको रौनक हराएको छ । गत शुक्रबार धितोपत्र बोर्डले ब्रोकर कमिसन ३३ देखि ६० प्रतिशतसम्म घटाएपछि बजारमा देखिएको रौनक विस्तारै कम हुँदै गएको हो ।
लगातार ७ अर्बभन्दा माथि सवाँ ९ अर्ब रुपैयाँसम्म कारोबार हुने बजार अहिले ४ अर्बमा खुम्चिन थालेको छ । यद्यपि, बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच तीब्र मोलमोलाइ गरेको देखिन्छ । तर, ब्रोकरहरुको अघोषित हस्तक्षेपले कारोबार प्रभावित भएको छ ।
८५ प्रतिशत कारोबार अनलाइनमार्फत हुने गरेको भनिए पनि अझै बजार ब्रोकरहरुकै कब्जामा रहेको अनुमान लगाउन गाह्रो छैन । कमिसन घटेपछि ब्रोकरहरुले आफू र आफ्न्तको सेयर बिक्रीलाई उच्च प्राथमिकता दिएका छन् । जसले गर्दा बजारमा प्यानिक सेयर अवस्था छ ।
तर, साधारण लगानीकर्ताहरु यो अवस्थामा पर्ख र हेर भनिरहेकाले खरिदकर्ताहरु बिक्रीकर्ताको तुलनामा कम छन् । यद्यपि, बजारले आइतबार एक दिनलाई छाड्ने हो भने सोमबार र मंगलबारको कारोबारबाट आशा गर्ने ठाउँ भने छ । अहिले पनि राम्रा कम्पनीहरुका सेयर मूल्य घटाउने र केही सीमित तर, प्रतिफल कम हुने कम्पनीहरुको सेयर मूल्य बढाउने प्रतिस्पर्धा कायमै छ ।
मंगलबार नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम(टीएमएस) मा समस्या आउँदा कारोबार प्रभावित भएको बताइएको छ । सामाजिक सञ्जालमा लगानीकर्ताले पटक पटक टीएमएस बिग्रिएको भन्दै आक्रोश पोखेका छन् ।
हकप्रदको बुक क्लोजपछि नागरिक लगानीकोषको मूल्यमा १० प्रतिशतकै वृद्धि गरेर बजार उठाइएको छ भने समस्या ग्रस्तबाट भरखरै उक्लिएको नारायणी विकास बैंकको पनि १० प्रतिशत नै मूल्य बढाइएको छ । निरन्तर मूल्य बढाएर ६ सयभन्दा माथि चढाइएको नारायणीको सेयर मूल्य बीचमा फेरि घटाएर ४ सयभन्दा तल झारिएको थियो । तर, फेरि बजार उकासेर ५ सय पुर्याइएको छ ।
धितोपत्र बोर्डले कमिसन घटाएपछि बजारमा उत्साह आउने अपेक्षा गरिए पनि त्यसअनुरुप बजार बढेको छैन । ब्रोकरले जतिसुकै चलखेल गर्दैनन् भने पनि उनीहरुले बजार घटाउने र बढाउने गरेको पछिल्लो दुई दिनमा सेयर बजारमा देखिएको उत्साहबाट पुष्टि भएको छ ।
कमिसन घटेसँगै बजार झिनो अंकले मात्रै बढेको छ । आइतबार ४० अंकले घटेको बजार सोमबार ८ अंकले बढेको थियो । मंगलबारको कारोबार २१ अंकको उतारचढाव हुँदै अन्तिम समयमा आएर ५.५७ अंकले बजार बढी २०१२.८९ अंकमा रोकिएको छ ।
कारोबारको प्रवृत्ति र प्रकृति हेर्दा बुधबार बजारले गति समाउने अपेक्षा गर्न सकिन्छ । मंगलबार ४ अर्ब ९ करोड २२ लाख रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ । सोमबार ४ अर्ब १० करोडको कारोबार थियो भने आइतबार ४ अर्ब ५० करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।