काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् ।
पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरु भएको आईएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक पार्टनरको रुपमा हेर्दैन तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताए ।
मलेसियाले छोटै समयमा गरेको विकासका नमुनाबारे उदाहरणहरू प्रस्तुत गर्दै ढकालले जबसम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन तबसम्म निजी क्षेत्रको लगानी विस्तार हुन नसक्ने बताए ।
आईएमई ग्रुप अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र समृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनले बताए ।
‘राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरू भए पनि निजी क्षेत्रको लगानी आउन सक्दैन । राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरूलाई निरुत्साहित गरेको छ । सबै व्यवसायीहरूलाई एउटै बास्केटमा राखेर हेर्नुहुँदैन,’ उनले भने ।
कोभिड–१९ को सबैभन्दा ठूलो असर व्यवसाय क्षेत्रमा परेको बताउँदै ढकालले कोभिड–१९ ले प्रभाव पारेको अर्थतन्त्रलाई लयमा ल्याउन राज्यले विशेष कार्यक्रमहरू ल्याउन जरुरी रहेको बताउँदै सरकारले ल्याएको राहत अपुरो भएको टिप्पणी गर्दै सो राहत सम्बन्धित व्यवसायीहरूले समेत पाउन नसकेको बताए ।
मौद्रिक नीति तथा बजेट आउँदा कोभिडको अहिलेको अवस्थालाई परिकल्पना नगरिएको बताउँदै अहिलेका समस्याहरू सम्बोधन गर्नका लागि बजेट तथा मौद्रिक नीतिको पुनरावलोकन गर्नुपर्ने जोड दिँदै मुलुकलाई आर्थिक विकास तथा समृद्धिको बाटोमा अगाडि बढाउन सर्वप्रथम कोभिडबाट प्रभावित व्यवसायलाई पुरानै लयमा ल्याउन जरुरी रहेको बताउँदै यसका लागि राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
कोभिड–१९ को महामारीले नयाँ–नयाँ व्यवसायहरूको अवसर पनि सिर्जना गरेको बताउँदै उनले यसले डिजिटल इकोनोमिको अवसर सिर्जना गरेको बताए ।