काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिसन घटेसँगै ब्रोकरको कब्जामा रहेको सेयर बजार विस्तारै बाहिर निस्कन खोजेको छ । नियामक नेपाल धितोपत्र बोर्डले ब्रोकरहरूको कमिसन घटाएको भन्दै कारोबारलाई आफ्नो काबुमा राख्ने कोसिस गरे पनि अन्ततः त्यो असफल भएको छ ।
त्यसको असर निरन्तर सेयर सूचक नेप्सेमा वृद्धि आइरहेको छ भने कारोबार रकममा पनि साताको अन्तिम दिन सुधार आएको छ । गत शुक्रबार बोर्डले ब्रोकर कमिसन ३३ देखि ६० प्रतिशतसम्म घटाएको थियो । त्यसैको परिणाम आइतबार सूचक करिब ४० अंकले घटेको थियो भने कारोबार रकम पनि कम भएको थियो । त्यसपछि सोमबार र मंगलबार झिनो अंकको वृद्धि देखिएको नेप्से बुधबार भने ४९ अंकको उछाल देखियो ।
यद्यपि, ती दिनहरूमा कारोबार रकम भने घटेर ४ अर्बभन्दा तल झरेको थियो । सूचीकृत कम्पनीहरूको साधारणसभा र घोषित लाभांशको मूल्य समायोजनपश्चात पनि सेयर सूचकमा वृद्धि हुनु सकारात्मक पाटो हो । बुधबार ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बिहीबार ५ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ भने सूचक पनि २५.२१ अंकले बढेर अहिलेसम्मकै रेकडेर्ड उच्च अंक २०८७.२७ अंकमा रोकिएको छ ।
बिहीबारको नेप्से सूचकले सामान्य ‘डब्ल्यू’ आकार बनाएकाले आइतबारको बजारले थप नयाँ रेकर्ड कायम गर्ने सम्भावना छ । यद्यपि, बिहीबार पनि कारोबारको मध्यतिर २११२.५९ अंकसम्म चढेको थियो ।
बिहीबार साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखियो भने बैंकिङ समूहले सेयर मूल्य बढ्ने आधार खडा गरे । प्रमुख १० सेयर मूल्य बढेका कम्पनीमध्ये ५ वटा वाणिज्य बैंक छन् । वाणिज्य बैंकहरूको सूचक पनि ३० अंकले बढेको छ । यद्यपि, जीवन बिमा र व्यापार सूचक बैंकिङभन्दा बढी बढेका छन् ।
बिहीबार निर्जीवन बिमा सूचक भने घटेका छन् । तर, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.७८ प्रतिशतले घटे पनि अधिकांश कम्पनीको ३ प्रतिशतभन्दा तल सेयर मूल्य घटेको छ ।