काठमाडौं । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट साढे अर्ब रुपैयाँ बचत गरेको छ ।
निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको १ अर्ब ४७ करोड रुपैयाँ बचत भएको हो ।
उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा १४ करोड ७० लाख रुपैयाँ बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो ।
इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ ।
पाँच वर्षदेखि नाफामा
लामो समयदेखि घाटामा रहेको निगम आर्थिक वर्ष २०७२/०७३ देखि नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७/०७३ मा १९ अर्ब ३६ करोड, आव २०७३/०७४ मा अर्ब ४५ करोड, २०७४/०७५ मा ३ अर्ब ५८ करोड, २०७५/०७६ मा ८ अर्ब ७५ करोड र गत आव २०७६/०७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ ।
निगमले आर्थिक वर्ष २०७५/०७६ मा २९ करोड रुपैयाँ रहेको चुक्ताँपुँजीलाई १० अर्ब रुपैयाँ पूँजी वृद्धि गरेर ११ अर्ब रुपैया पुर्याएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नाफा रकमबाट सेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाइएको छ ।