काठमाडौं । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि ऐतिहासिक महत्त्व बोकेको रानीपोखरी पुनर्निर्माण हुनसकेको छैन । विभिन्न विवादपछि यही वर्षको तिहारअगावै सम्पन्न गर्ने लक्ष्य रहे पनि पुनर्निर्माणमा ढिलाइ हुने भएको छ ।
काठमाडौं महानगर र सरकारले भूकम्प गएको दुई वर्षभित्र नै पुनर्निर्माण गर्ने गरी डीपीआर तयार गरी काम गर्ने लक्ष्य लिएता पनि पहिलाकै शैलीमा बनाउने कि नयाँ शैलीमा बनाउने भन्ने विवादका कारण निर्माण कार्य रोकिएको थियो । अहिले प्रताप मल्लको पालामा बनाइएको पुरानै ग्रन्थकुट शैलीमा बनाउने गरी रानीपोखरी पुनर्निर्माण उपभोक्ता समिति र पुनर्निर्माण प्राधिकरणमार्फत निर्माण कार्य अगाडि बढेको रानीपोखरी पुनर्निर्माण समितिका संयोजक कृष्णकुमार डुमासले जानकारी दिए ।
रानीपोखरीको पर्खाल र कालो माटो बिछ्याउनका लागि मात्र ९ करोड ९७ लाख रुपैयाँको योजना छ । यसमा अहिले २० देखि २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । यो काम असोज मसान्तसम्म सकिनु पर्ने, तर वर्षा र कामको गति सुस्त भएकाले ढिलाइ भइरहेको छ । ‘हामी नयाँ कामदार ल्याएर भए पनि कामको गति बढाउँछौं,’ पुनर्निर्माण प्राधिकरणका पूर्व सहसचिव एवम् रानीपोखरी निर्माण विज्ञ राजमान मानन्धरले बताए ।
उनका अनुसार रानीपोखरीभित्रको मन्दिर र पुल निर्माण कार्य १५ करोड रुपैयाँमा कुमार तुलसीदेवी कम्पनीसँग आगामी वैशाख २ गतेभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको छ । सम्झौता साउन २ गते भएको उनले बताए ।
‘रानीपोखरी पहिलाकै शैलीमा बनाउनु पर्ने दबावका कारण निर्माण कार्य रोकिएको थियो, अब कुनै विवाद छैन,’ पुनर्निर्माण समितिका संयोजक डुमासले भने, ‘पोखरी पुरानै शैलीमा बन्छ, हामी बनाएरै देखाउँछौं ।’
अहिले काममा ढिलाइ भइरहेको र वर्षाका कारण काम गर्न नसकिएको उनको भनाइ थियो । पुनर्निर्माण प्राधिकरण र उपभोक्ता समितिले श्रमिकलाई पैसा दिन करिब डेढ महिनासम्म ढिलाइ गर्ने गरेकोले पनि काम सुस्त भएको र सम्बन्धित निकायले यो समस्या सुनिदिए सजिलो हुने संयोजक डुमासले बताए ।