काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकी संचालक तथा प्रख्यात कानुनी विज्ञ इला शर्माको करिब ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।
शनिबार साँझ अचानक हृदयघात भएपछि शर्मालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
उनको पार्थिव शरीर हाल नर्भिक अस्पतालमै राखिएको छ। पारिवारिक स्रोतका अनुसार आइतबार बिहान ९ देखि १० बजेसम्म उनको पार्थिव शरीर कुपण्डोलस्थित निवासमा राखिने छ। दिल्लीमा रहेकी उनकी छोरीको आगमनपछि दिउँसो अन्त्येष्टि गरिने बताइएको छ।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा एलएलएम गरेकी थिइन भने युकेको युनिभर्सिटी अफ हलबाट अन्तर्राष्ट्रिय व्यापार र विकास अध्ययनमा एलएलएम गरेकी थिइन्।
उनले कानुन, मिडिया, शिक्षा, विकास, मानव अधिकार, व्यापार, वातावरण, र निर्वाचन प्रणाली सुधारजस्ता क्षेत्रमा तीन दशकभन्दा बढी समय समर्पण गरेकी थिइन।
निर्वाचन आयोगकी पूर्व आयुक्तसमेत रहेकी शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय समितिको नेतृत्व गरेकी थिइन। उनले काठमाडौं विश्वविद्यालय र ओस्लो विश्वविद्यालयको सहकार्यमा निर्वाचन आयोगमार्फत सञ्चालित एकेडेमिक मास्टर्स कोर्सको डिजाइन र अध्यापनमा पनि महत्त्वपूर्ण योगदान दिएकी थिइन।
त्यसैगरी, शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा यूएनडीपी परियोजनामा राष्ट्रिय परामर्शदाताको भूमिका निभाउनुका साथै विभिन्न अन्तर्राष्ट्रिय सञ्जालहरूमार्फत संयुक्त राष्ट्रसंघमा मानव अधिकार, अन्तर्राष्ट्रिय व्यापार र विकासका मुद्दामा रणनीतिक कार्य योजनाहरूमा काम गरेकी थिइन।
फुड फर्स्ट इन्फर्मेसन एन्ड एक्सन नेटवर्क (फियाने) नेपालको संस्थापक उपाध्यक्ष, साउथ एसियन वुमन इन मिडिया र साउथ एशिया वाचजस्ता संस्थाहरूको कार्यकारी समितिमा समेत उनको सक्रिय संलग्नता थियो।