काठमाडौं । सेयर बजार नयाँ-नयाँ रेकर्ड कायम गर्ने गतिमा अघि बढेको छ । साताको पहिलो दिन आइतबार उच्च अंकले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) वृद्धि हुँदै हालसम्मकै उच्च अंक २१७५.३९ अंकमा रोकिएको छ । यसअघि २१०० वरिपरि घुमिरेको बजार नयाँ लक्ष्य पछ्याउने क्रममा ८८ दशमलव १२ अंकको वृद्धि देखिएको छ ।
यो पनि दैनिक कारोबारका हिसावले उच्च अंक हो । खासगरी, बैंकिङ समूहमा देखिएको वृद्धिले सेयर बजारलाई थप रौनक दिएको छ । यद्यपि, नेप्सेमा वर्गीकृत सबै उपसमूहहरुको सूचक वृद्धि भएको छ । त्यसमध्ये जीवन बिमा, निर्जीवन बिमा, उत्पादनमूलक तथा प्रशोधन र व्यापार समूहको वृद्धि उच्च छ ।
सेयर बजारमा बजार पुँजीकरणका हिसावले आधा हिस्सा ओगट्ने बैंकिङ समूह पनि ७१ अंकले बढेको छ । त्यसैको परिणाम नेप्से सूचकमा उच्च वृद्धि भएको हो । उत्पादन समूहमा रहेको हिमालयन डिष्टिलरी र व्यापार समूहमा रहेको साल्ट ट्रेडिङको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, प्राइम कमर्सियल बैंकको संस्थापक तथा सर्वसाधारण सेयर र कुमारी बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । उता नेपाल पुनर्बिमा कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था र नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढी बढेको छ ।
आइतबार कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजार एक घण्टामा केही सुस्ताए जस्तो देखिए पनि निरन्तर बढेर कारोबार बन्द भएको हो । आइतबार कारोबार रकममा पनि उल्लेखीय सुधार भएर ६ अर्ब ३४ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
गत साता आइतबार बाहेक अन्य दिन निरन्तर बजार बढेको र आइतबारसमेत गर्दा पाँच दिनमा १७७ अंकले बजार बढेको छ । यसलाई आधार मान्दा अधिकांश कम्पनीको सेयर मूल्यले नयाँ रेकर्ड राखेको छ । त्यसले गर्दा लगानीकर्ता एक पटक फेरि नाफा बुक गर्नेतर्फ अग्रसर देखिन्छन् । यो अवधिलाई हेर्दा विगतमा खरिद गरिएको सेयर खातामा आइसक्ने स्थिति पनि छ ।
बजार बढ्ने क्रममा रहेका बेला तीब्र गतिमा मूल्य वृद्धि हुने र त्यही रफ्तारमा घट्नेक्रम पनि आउन सक्छ । यस्तो बेला लगानीकर्ता नआत्तिकन सचेत र संयमित हुँदै कारोबार गर्नु राम्रो हुन्छ ।
खासगरी, सामाजिक सञ्जालमा विभिन्न कम्पनीहरुको दोस्रो त्रैमासिक वित्तीय विवरणहरुको आंकलन गर्ने र त्यसैका आधारमा अहिलेदेखि नै लगानी गरौं भन्ने खालका अफवाहहरु सिर्जना गराउँदा कम्पनीहरुको सेयर मूल्यले नयाँ उचाइ लिँदै गएका छन् ।
यद्यपि, दोस्रो त्रैमास सकिएर वित्तीय विवरण सार्वजनिक हुन झण्डै एक महिना बाँकी छ । तर, कतिपय सूचीकृतबाट आफ्न्त र चिनेजानेका व्यक्तिहरुमार्फत कम्पनीका बारेमा विभिन्न सूचनाहरु चुहाएर बजार बढाउने गरिएको छ ।
सूचनाकाे कुनै आधिकारिक माध्यम हुँदैन । कसैप्रति जवाफदेहीदा पनि हुँदैन । त्यसलाई नियमक निकायले पनि केही गर्न सक्दैन । यही मौकामा मूल्य बढाएर वित्तीय विवरण आउनुअघि नै त्यस्ता लगानीकर्ताहरु नाफा बुक गरेर बाहिरिने सम्भावना पनि उत्तिकै हुन्छ । अहिले अधिकांश सूचीकृत कम्पनीहरुको साधारणसभाका लागि घोषित बोनस सेयर पछिको मूल्य समायोजन हुने काम भइरहेको छ । मूल्य समायोजन हुने बित्तिकै ती कम्पनीको सेयर मूल्य कम हुने र कम मूल्य देखेर लगानीकर्ताहरु आकर्षित हुने गरेको पनि पाइन्छ ।