काठमाडौं । सेयर बजार परिसूचक (नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.३६ अंकले घटेर २१६९ अंकमा रोकिएको छ । ६ दिनदेखि निरन्तर बढिरहेको बजारमा सोमबार सामान्य करेक्सन भएको छ ।
यद्यपी, कारोबार सुरुवाती चरणमा भने नयाँ उचाइ (२२१६ अंक) कायम गर्दै झरेको बजार पटकपटक उक्सिने प्रयास गरे पनि ती सबै प्रयासहरु विफल भएका छन् । यद्यपी, कारोबारको अन्तिम समयतिर २१५४ सम्म झरेको बजार पछि सुरधारिँदै २१६९ अंकमा बन्द भएको हो ।
विगतका दिनहरुमा सकारात्मक गतिमा अघि बढेको बैंकिङ समूह, जीवन बिमा र उत्पादनमूलक उपसमूहमा रहेका कम्पनीका सेयर मूल्य ओरालो लागेसँगै बजार प्रभावित भएको हो । सोमबार होटल, व्यापार, लघुवित्त र म्युचुअल फण्डको सूचहहरु खस्केका छन् ।
यसदिन सूचक मात्रै खस्किएको छैन, कारोबार रकम समेत घटेको छ । आइतबार कारोबार रकममा पनि उल्लेखीय सुधार भएर ६ अर्ब ३४ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
सोमबार भने ५ अर्ब ९६ करोड रुपैयाँमा खुम्चिएको छ । कतिपय कम्पनीहरुको सेयर मूल्य समायोजन र विभिन्न अफवाहको शिकार सेयर बजार भएको छ । नेप्से सूचकको प्रवृत्ति हेर्दा मंगलबारसमेत बजारमा सुधार आउने संभावना बढी छ । यद्यपी, सुरुवाती समय र अन्तिम समयमा सकारात्मक सुधार हुने अवस्था छ ।
सोमबार सूचकले निकै प्रयास गरेर डब्ल्यू आकार बनाउन खोजे पनि त्यो संभव नभएकाले बजार अझ केही खस्कने बाटोमा लागेको देखिन्छ । बजार घटे पनि जानकी फाइनान्स र किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ८ अंकले बढेको छ । सेयर सूचक घट्दा पनि अधिकांश कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा कमले गिरावट आएको छ ।
नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य करिब ६ अंकले घटेको छ । सोमबार पनि बजारमा नेपाल रि–इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स, नेपाल टेलिकम र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले कारोबार रकममा कब्जा जमाएका छन् । नेपाल रिको मात्रै ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।