काठमाडौं । व्याप्त राजनीति अस्थिरता र पुस मसान्तको दबाबलाई चिर्दै सेयर बजार परिसूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले नयाँ उचाइ कायम गरेको छ । साताको पहिलो दिन आइतबार कारोबार खुलेदेखि नै निरन्तर बढ्न थालेको बजार अन्तिम समयसम्म बढेर कारोबार बन्द भएको छ ।
यद्यपि, कारोबारको बीच-बीचमा केही करेक्सन भने देखिएको छ । आइतबार बजार बढ्ने प्रमुख सूचकका रुपमा बैंकिङ समूहले नेतृत्व गरेको छ । सेयर बजारमा पुँजीकरणका हिसावले ५० प्रतिशत हिस्सा ओगट्ने बैंकिङ समूहको परिसूचक ५९.६१ प्रतिशत बढेको छ ।
आइतबार सेयर कारोबार भएका बैंकमध्ये एभरेष्ट बैंकको सेयर मूल्य घटेको छ भने बाँकी सबै बैंकको मूल्य बढेको छ । त्यसलाई विकास बैंक र व्यापार समूहले पनि सहयोग गरेका छन् । यसदिन जीवन बिमा परिसूचक बाहेक सबै समूह परिसूचक बढेका छन् ।
गत साता बिहीबार २१९४.४९ अंकमा रहेको नेप्से सूचक आइतबार २२३७.९९ अंकसम्म चढ्दै २२३५.७२ अंकमा रोकिएको छ । यो उचाइ रेकडेर्ड तथा अनरेकडेर्ड हिसाव हालसम्मकै उच्च विन्दु हो ।
बजारको प्रवृत्ति, चाप र बैंकिङ समूहमा देखिएको उछालले सोमबार पनि अग्रदिशा समाउने प्रवल सम्भवना छ । आइतबार नेप्सेमा सबैभन्दा प्रभु बैंकको ४० करोड ३० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यो कारोबारका लागि प्रभुको ७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आइतबारको कारोबारमा १० उच्च कारोबारमध्ये नेपाल पुनर्बिमा, नेपाल लाइफ र नेपाल टेलिकम बाहेक सातवटा वाणिज्य बैंकले कब्जा गरेका छन् । करिब १० प्रतिशतले सेयर मूल्य बढेको कुमारीको ३० करोड ४५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
बजार सूचक ठूलो अंकले बढे पनि आइतबार जलविद्युत् कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् । यसदिन मूल्य घटेको प्रखुम १० कम्पनीमध्ये ७ वटा जलविद्युत् कम्पनी छन् । यद्यपि, निर्धन उत्थान लघुवित्त (४.३१ प्रतिशत)बाहेक सबैको सेयर मूल्य ३ प्रतिशतभन्दा थोरैले घटेको छ ।
आइतबार कारोबार रकममा समेत सुधार आएको छ । आइतबार १ करोड ५० लाख कित्ता सेयर किनबेच भएर ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ कारोबार भएको छ । यो रकम बिहीबारको भन्दा बढी हो । बिहीबार ५ अर्ब ८७ करोड रुपैयाँ कारोबार भएको थियो । आइतबार प्रभु लाइफ इन्स्योरेन्सको १० प्रतिशत सेयर मूल्य बढेको छ भने अन्य ५ कम्पनीको ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।