काठमाडौं । आन्तरिक राजस्व विभाग पुतलीसडकमा साउनदेखि व्यवसाय दर्ता तथा राजस्व बुझाउनेभन्दा अहिले व्यक्तिगत प्यान लिनेको भीड हुने गरेको छ ।
सरकारले आर्थिक वर्ष २०७६/०७७ साउन १ गतेदेखि व्यापार व्यवसाय गर्न तथा कर्मचारीहरुले तलब लिनका लागि पनि अनिर्वाय प्यान हुनुपर्ने भएपछि अहिले आन्तरिक राजस्व विभागमा प्यान लिनेहरुको भीड लाग्न थालेको छ ।
राजस्व विभाग पुतलीसडमा दैनिक दुई हजारदेखि पच्चीस सयसम्म व्यक्तिगत प्यान वितरण गरिएको कार्यलयका प्रमुख कर अधिकृत नरबहादुर थापाले बताए ।
‘हामी चार जना व्यक्तिगत प्यान दिने फाँटमा काम गरिरहेका छौं,’ कर अधिकृत थापाले भने, ‘यहाँ अहिले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म भीड हुन्छ, यसमा थोरै मात्र व्यवसाय दर्ता र कर तिर्ने हुन्छन्, बाँकी सबै प्यान लिन आएका सेवाग्राही हुन्छन् ।’
एक सेवाग्राहीले भने, ‘आएको पाँच घण्टा भयो, अहिलेसम्म पालो आएको छैन, पालो पर्खिरहेको छु, काम होला ।’ तर, धेरैबेर कुर्नु परेको उनले गुनासो गरे ।
अहिले सबै राजस्व विभागमा व्यवसाय दर्ता गर्नेभन्दा व्यक्तिगत प्यान लिनेको सङ्ख्या बढिरहेको कर अधिकृत थापाले बताए ।