काठमाडौं । साताको तेस्रो दिन सेयर बजार २८.३१ अंकले बढेको छ । बजार निरन्तर बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२६७.७३ अंकमा पुगेको छ । बजार खुल्दा २२४३ अंकमा रहेकोमा केही घटेर २२३४ अंकमा झेरेको थियो । त्यसपछि बजार निरन्तर उकालो लागेको थियो ।
यसबीचमा ८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ । आईएमईको सेयर मूल्य ७५ बढेर ८२५ रुपैयाँ पुगेको छ ।
यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, अपर तामाकोसी हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, समृद्धि फाइनान्स लिमिटेड र गोर्खाज फाइनान्सको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
मंगलबार व्यापार बाहेक सबै परिसूचक बढेका छन् । ४ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको १ करोड ३५ लाख ३१ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
मंगलबार प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । प्रिमियरको १०६५ मा २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै प्रभु बैंकको ४११ मा १६ करोड र अपर तामाकोसीको ४७८ मा १५ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी जीवन बिमा सूचक बढेको छ । जीवन बिमा सूचक ३७६ अंकले बढेको छ । यस्तै निर्जीवन बिमा सूचक २७३, जलविद्युतको ६०, लघुवित्तको ५३ र बैंक १४.५४ अंक बढेको नेप्सेले जनाएको छ ।