काठमाडौं । राजनीतिक अस्थिरताका बीचमा पनि सेयर बजारले दिनहुँ नयाँ रेकर्ड कायम राखेको छ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८.४६ अंक बढेर २३१५ मा पुगेको छ । यो हालसम्मको सर्वाधिक उचाइ हो ।
प्राविधिक रुपले हेर्दा नेप्से साताको पहिलो दिन आइतबारको कारोबारमा डब्ल्यू आकार बनाएकाले आगामी दिनमा अझै उचाइ लिने संकेत गरेको छ । अर्को कारोबार रकम पनि बुधबारको तुलनामा अधिक छ ।
त्यसले पनि बजारमा लगानीकर्ताको चाप छ भन्ने देखाउँछ । लगानीकर्ताको चाप देखिएसँगै बजारले नयाँ उचाइ प्राप्त गरेको हो । बजार बढाउन जीवन बिमा, व्यापार र विकास बैंकले प्रमुख भूमिका खेलेका छन् । बैंकिङ सूचकमा खासै सुधार नदेखिएकाले बजार अझै बढ्ने संभावना छ ।
आइतबार बजार ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ५० लाख ३५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । गत साता बुधबार कुल ५ अर्ब ८८ करोड १८ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार कित्ता सेयर किनबेच भएको थियो ।
बुधबार सेयर बजार २३०० अंक नजिक पुगेर फर्किएकोमा आइतबार नयाँ रेकर्ड राखेको छ । आइतबार १६ वटा कम्पनीले ९ प्रतिशतभन्दा बढीको मूल्य बढाएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्था र प्रभु लाइफ इन्स्योरेन्सलगायत कम्पनीहरु छन् ।
आइतबार जलविद्युत बाहेक सबै परिसूचक बढेका छन् । व्यापार, विकास बैंक, लघुवित्त र जीवन बिमा परिसूचकमा उछाल आएको छ । जलविद्युत परिसूचक ७.२ अंकले घटेको छ ।
सेयर बजार बढेका बेला नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ । टेलिकमको लाभांश घोषणा हुन लागेकाले लगानीकर्ता झुम्मिएका हुन् । टेलिकमले गत वर्ष सेयरधनीलाई ४५ प्रतिशत लाभांश दिएको थियो ।
आइतबार टेलिकमको १३५९ मा ५८ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनआईसी एसिया बैंकको ९०१ मा २२ करोड ९० लाख र सिभिल बैंकको २१७ मा २० करोड ९९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।