काठमाडौं। व्यावसायिक घराना ‘गोयल ग्रुप’ र ‘राठी ग्रुप’ को लगानी रहेको मारुती सिमेन्टले ६ महिनामै २ अर्ब बढीको व्यापार गरेको छ। कम्पनीले चालु वर्षको ६ महिनामा २ अर्ब १४ करोड १० लाख रुपैयाँ बराबरको व्यावार गरेको हो।
कम्पनीले आव २०२५ मा ५ अर्ब ९० करोड ६० लाख, आव २०२४ मा ४ अर्ब ७० करोड ७० लाख, आव २०२३ मा ४ अर्ब २४ करोड ३० लाख र आव २०२२ मा ४ अर्ब ९७ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। बर्सेनि अर्बौं रुपैयाँ बराबरको व्यापार गरे पनि यसको संस्थागत साख मूल्यांकनमा ‘नेगेटिभ वाच’ को जोखिम कायम रहेको छ।
रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘ट्रिपल बी’ रेटिङ प्रदान गर्दै यसलाई ‘नकारात्मक असर पर्न सक्ने’ निगरानीको सूचीमा राखेको हो, जसको अर्थ भविष्यमा कम्पनीको साख अझ खस्कन सक्ने सम्भावना रहेको र लगानीकर्ता तथा बैंकहरूले यसलाई थप सतर्कताका साथ हेर्नुपर्नेछ।
लामो व्यावसायिक अनुभव, पूर्वी नेपालमा रहेको बलियो ब्रान्ड इमेज र आफ्नै चुनढुंगा खानी हुनु कम्पनीका लागि ठूला अवसर हुन्। तर, सिमेन्ट उद्योगमा मागभन्दा उत्पादन बढी हुँदा उत्पन्न भएको तीव्र प्रतिस्पर्धा र आर्थिक मन्दीका कारण थुप्रिएको स्टक व्यवस्थापन गर्नु कम्पनीको मुख्य चुनौती बनेको छ।
मुख्यतया ५७ करोड ५० लाखको विवादित विद्युत् महसुल (डेडिकेटेड र ट्रंक लाइन) दायित्व र झन्डै ४ अर्ब ६८ करोड रुपैयाँको कुल ऋण भार र थुप्रिएको सिमेन्ट स्टकका कारण कार्यशील पुँजीमा परेको चापले कम्पनीको साखमा यस्तो जोखिम निम्त्याएको हो।
कम्पनीले ऋण घटाउन तय गरिएको सार्वजनिक निष्कासन (आईपीओ)मा भएको ढिलाइका कारण कम्पनीको साखमा यस्तो नकारात्मक प्रभाव परेको रिपोर्टमा उल्लेख छ। यस किसिमको रेटिङले कम्पनीले भविष्यमा लिने ऋणको ब्याजदर महँगो हुन सक्ने र आईपीओ निष्कासन गर्दा लगानीकर्ताको आत्मविश्वासमा समेत असर पार्न सक्ने देखिन्छ।
कम्पनीको व्यापारको परिमाण बढ्दै गए पनि आन्तरिक वित्तीय व्यवस्थापन र बाह्य बजारको तीव्र प्रतिस्पर्धाले गर्दा साख मूल्यांकनमा देखिएको नकारात्मक निगरानीले साखमा चुनौती थपिदिएको इक्रा रिपोर्टमा उल्लेख छ। आर्थिक वर्ष २०२४ मा ९ प्रतिशत मात्र रहेको नाफा (ओपीएम) २०२५ मा १९ प्रतिशत पुगेको छ भने चालू आर्थिक वर्षको पहिलो ६ महिनामा यो ३० प्रतिशतको उच्च बिन्दुमा पुगेको छ, जुन सिमेन्ट उद्योगको औसतभन्दा निकै माथि हो।
त्यस्तै, कम्पनीको ब्याज तिर्ने क्षमता ९.२२ प्रतिशत र सावाँब्याज तिर्ने नगद प्रवाह क्षमता (डीएससीआर) २.६८ गुणा हुनुले कम्पनीसँग ऋण तिर्न पुग्ने पर्याप्त नाफा रहेको देखाउँछ। चालू वर्षको ६ महिनामा पनि यस्तो रेसियो क्रमशः ३.९३ गुणा र १.४४ गुणा छ। कम्पनीको कुल नेटवर्थको तुलनामा ऋणको अनुपात पनि ०.७१ गुणा मात्र छ, जसलाई वित्तीय भाषामा निकै सुरक्षित मानिन्छ।
तर, यति बलिया सूचक हुँदाहुँदै पनि कम्पनीको खुद कार्यशील पुँजी र सञ्चालन आम्दानीको अनुपात ७५ प्रतिशत पुगेको छ। कम्पनीले बजारबाट उठाउनु पर्ने बाँकी (रकम) नियन्त्रित अवस्थामा रहे पनि उच्च मौज्दातका कारण कार्यपुँजी व्यवस्थापनमा कठिनाइ देखिएको रिपोर्टमा उल्लेख छ। यसले तरलता संकट निम्त्याउन सक्छ।
सन् १९९४ मा सिराहको गोलबजारमा स्थापित मारुती सिमेन्टले हाल दैनिक ३ हजार ३ सय टन क्लिंकर र ४ हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्छ। लामो व्यावसायिक अनुभव, पूर्वी नेपालमा रहेको बलियो ब्रान्ड इमेज र आफ्नै चुनढुंगा खानी हुनु कम्पनीका लागि ठूला अवसर हुन्। तर, सिमेन्ट उद्योगमा मागभन्दा उत्पादन बढी हुँदा उत्पन्न भएको तीव्र प्रतिस्पर्धा र आर्थिक मन्दीका कारण थुप्रिएको स्टक व्यवस्थापन गर्नु कम्पनीको मुख्य चुनौती बनेको छ।
यदि कम्पनीले समयमै प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरी ऋण घटाउन सकेन र विवादित विद्युत् महसुल दायित्व भुक्तानी गर्नुपर्ने अवस्था आयो भने यसको वित्तीय स्वास्थ्यमा गम्भीर असर पर्ने रेटिङ रिपोर्टमा उल्लेख छ।