काठमाडाैं । केही समय सुस्ताएको सेयर बजारले फेरि गति समाएको छ । निरन्तर कारोबार रकम बढिरहेको छ भने नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकले पनि नयाँ रेकर्डका अघि बढेको छ । त्यसअघि लगातार ८ कारोबार दिन सूचक बढेर गत मंगलबार पाँच अंकले घटेको सूचक बुधबार र बिहीबार दोहोरो अंकले बढ्दै हालसम्मकै उच्च अंक २३७४.६४ मा पुगेको छ ।
यद्यपि, बिहीबार कारोबारको अन्तिमतिर २३७५.१३ सम्म चढेको थियो । बिहीबार २३५५.१८ अंकसम्म बुधबार २३४२.७७ अंकमा रोकिएको बजार बिहीबार त्योभन्दा माथि नै बढ्ने र घट्नेमा प्रतिस्पर्धा चलेको थियो ।
गतसाता र यो साताका सुरुका २ दिन कारोबार रकम पनि केही सुस्ताएर ४ देखि ५ अर्बमा खुम्चिएको थियो । तर, मंगलबारदेखि कारोबार रकममा पनि निरन्तर सुधार हुँदै बिहीबार ७ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
चन्द्रागिरि हिल्स र नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको प्राथमिक निष्कासनमा साढे २० अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज हुँदा पनि बजारले नयाँ उचाइ मात्रै छोएको छैन, कारोबार रकममा पनि बढोत्तरी गरेको छ । यसले आगामी दिनमा सेयर बजार अझै माथि जान्छ भन्ने देखाउँछ ।
सामान्यतयः दुवै कम्पनीबाट बाहिर आएको रकमको आधार हिस्सा पुनः बजारमै प्रवेश गर्छ ।
बिहीबार २४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यद्यपि, अधिकांश वाणिज्य बैंकहरुको सेयर मूल्य घटेसँगै बैंकिङ सूचक र म्युचुअल फन्ड सूचकमा सामान्य गिरावट आएको छ । बिहीबारको कारोबारमा जीवन बिमा समूह र निर्जीवन बिमा समूहमा उछाल आएको छ । पुँजीकरणका आधारमा भन्दा बिमा समूहको हिस्सा १७ प्रतिशत छ भने बैंक समूहको हिस्सा ४१ प्रतिशत छ ।
बिमा समूहको वर्चश्व रहेको बिहीबारको कारोबारमा सबैभन्दा धेरै कारोबार ५ बिमा कम्पनीले गरेका छन् । नेपाल लाइफको ५३ करोडको कारोबार भएको छ भने नेको, नेपाल–रि, शिखर, नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । १० बढी कारोबार हुने अन्य कम्पनीमा प्रभु बैंक, नेपाल टेलिकम, एनआई एसिया, अरुण कावेली हाइड्रो र नबिल बैंक छन् ।