काठमाडौं । भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल उद्योग परिसंघद्धारा आयोजित अन्तरक्रियामा बोल्दै भन्सार विभागका महानिर्देशक सुमन दाहाललले एकद्वार प्रणाली कार्यान्वयनमा आउन थालेकाले प्रविधिमा आधारित मूल्यांकन तथा अनुगमन प्रणाली अपनाउनुपर्ने बताए । उनले छिट्टै डिजिटल भुक्तानीका काम अघि बढेको बताएका छन् ।
भन्सारको सुधारमा सहकार्य तथा समन्वय आवश्यक रहेको भन्दै महानिर्देशक दाहालले सहकार्यका लागि परिसंघलाई आग्रहसमेत गरे । परिसंघका कार्यबाहक अध्यक्ष विष्णुकुमार अग्रवालले भन्सार विभागले व्यापार सहजीकरणका लागि पूर्वाधार तथा सेवामा भइरहेको सुधारको स्वागत गर्दै तत्काल ध्यान दिनुपर्ने बताए ।
करिब २५ वर्ष यतादेखि भन्सार एजेण्ट थप नभएकाले इजाजतपत्र तत्काल खुला गरी एजेण्टको संख्या बढाउन पनि कावा अध्यक्ष अग्रवालले आग्रह गरे । त्यस्तै, डिजिटल भन्सार प्रशासनको माग दोहोर्याउँदै व्यवहारमा नै कागजात बिहीन जाँचपास, डिजिटल भुक्तानीको सुविधा आवश्यक भइसकेको र भन्सार प्रशासनले विश्वसनीय उद्योगी व्यवसायीहरुलाई झन्झट बिनाको जाँच पासको परिपाटी अवलम्बन पनि अग्रवालले आग्रह गरे ।
भन्सारमा मूल्याङ्कन गर्दा अझै पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा कृत्रिम सन्दर्भ मूल्यलाई आधार मानेर गर्ने गरिएकोले मूल्याङ्कनको यथार्थपरक डेटावेस निर्माण गरी पारदर्शी र अनुमान योग्य मूल्याङ्कन प्रणालीको स्थापना गर्नुपर्ने बताइएको छ ।
अन्तरक्रियामा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाले व्यापार प्रवद्र्धनका लागि नेपाल ट्रेड इन्फरमेसन पोर्टल सुरु गर्न लागेको बताए।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्रमान सिंहले उत्पत्तिको प्रमाण पत्र जारी गर्ने नयाँ कार्यविधि, जिएसपी तथा रेक्स प्रणालीका बारेमा प्राविधिक जानकारी दिए । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले भन्सार पूर्वाधार तथा सेवामा भएका सुधारको स्वागत गर्दै वस्तु उत्पादनको लागत कम गर्ने र निकासीकर्तालाई थप सहुलियत दिन सकेमात्र निर्यातको अंश बढाउन सकिने बताए ।
अन्तरक्रियामा परिसंघका उपाध्यक्षहरु सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेसहित आयातनिर्यात व्यापारमा संलग्न व्यवसायीहरु उपस्थित थिए ।