काठमाडौं । बढी नाफा देखाउन एनआईसी एसिया बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो सेयर धमाधम बिक्री गर्न थालेको छ । सेयर बजार बढी रहेको बेला बढी मूल्य पाउने आशामा बैंकले आधा दर्जन संस्थामा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्न लागेको हो ।
घटेको र बढेका बेला सेयर बिक्री गर्दा धेरै फरक पर्छ । त्यसैले एनआईसी एसियाले सेयर बजार बढेको बेला सेयर मूल्य बढी आउने र बढी नाफा देखाउन पाइने भएपछि नागरिक लगानी कोष, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
कोरोना महामारीले गर्दा व्यवसाय विस्तार नहुने देखपछि बैंकले विभिन्न संस्थाहरुमा रहेको सेयर बिक्री गरेर नाफा बढी देखाउन लागेको अनुमान गरिएको छ । अन्य व्यवसाय खुम्चिरहेका बेला सेयर बजार भने विस्तार हुँदै गएको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुदनाफा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा सामान्य बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यी कम्पनीको सेयर बिक्रीपछि बैंकको नाफा करोडौं रुपैयाँ थपिनेछ । सेयरधनीलाई बढी लाभांश दिन सकिने बैंकको अनुमान छ । बैंकले बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्न पाउँदैनन् । बिमालगायत अन्य कम्पनीको सेयर बैंकले किन्न पाउँछन् । बैंककले एनआईसी लघुवित्त वित्तीय संस्था पनि सञ्चालन गरिरहेको छ ।
यो पनि हेर्नुहोस
३ लघुवित्तको सेयर बेच्दै एनआईसी एसिया बैंक, न्यूनतम मूल्य ४६३ देखि ८१२ रुपैयाँ
बैंकले वित्तीय संस्थामा रहेको १५ लाख ४४ हजार ८२९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । जसअनुसार लगानी कोषको १ लाख ८२ हजार ५६०, नेसनल लाइफको ९२ हजार २६६ र सूर्या लाइफको १ लाख ७३ हजार ८४४ कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्न लागेको हो । सेयर खरिदका लागि लगानीकर्ताहरुले माघ २० देखि २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।
यस्तै आरएमडीसी लघुवित्तको ४ लाख ३६ हजार ३६१, माहुली सामुदायिक लघुवित्तको ६१ हजार २०० र मेरो माइक्रोफाइनान्सको ५ लाख ९८ हजार ५९८ कित्ता सेयर बिक्री गर्न लागेको छ ।
पटक-पटक लिलामीको सूचना निकाल्दा पनि बैंकले संस्थामा रहेको संस्थापक सेयर बिक्री गर्न सकेको छैन । ३ वटा लघुवित्तको मात्र ३ पटक बोलपत्र आब्हान गरिसकेको छ ।
यसअघि बैंकले पुस १९ गतेदेखि २४ गतेसम्ममा यी तीन कम्पनी सहित नेसनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बोलकबोल प्रक्रियाबाट खरिद गर्न आह्वान गरेको थियो । सम्पूर्ण सेयरका लागि दरखास्त नपरेपछि बैंकले पुनः बोलपत्रबाट बिक्री गर्न लागेको हो ।
बैंकले लगानी कोषको न्यूनतम सेयर मूल्य प्रतिकित्ता १ हजार ६२३, नेसनल लाइफको ५३० र सूर्या लाइफको ३७८ रुपैयाँ तोकेको छ । यसअघि पनि बैंकले कोषको न्यूनतम १ हजार ७१५ रुपैयाँ, नेसनलको ५५० र सूर्याको ३३७ रुपैयाँ तोकेको थियो ।
बैंकले आरएमडीसीको सेयरमा न्यूनतम ५२३ रुपैयाँ, माहुलीको न्यूनतम ८१२ र मेरो माइक्रोफाइनान्सको न्यूनतम ४६३ रुपैयाँ तोकेको छ । आउँदो फागुन १२ गतेसम्म बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ ।
बैंकको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले बिक्री प्रबन्धकका साथै एनआईसी एसिया बैंकको कर्पोरेट र शाखा कार्यालयबाट सेयर खरिदको प्रस्ताव पेश गर्न सक्ने छन ।